काठमाडौं । नेपाली विद्यार्थी नेपाली शैक्षिक परामर्श केन्द्रबाट ठगिँदै आएको विषय नौलो होइन । विद्यार्थीलाई शैक्षिक परामर्श दिने नाममा आर्थिक शोषण गरेका खबर पटक-पटक आए पनि सरकारले गतिलो कदम लिन सकेको थिएन । शिक्षा मन्त्रालयले समेत विद्यार्थीको उजुरीमा समेत विद्यार्थी ठग्ने कन्सल्टेन्सीविरुद्ध एक्सन लिन सकेको थिएन ।
तर, पछिल्लो केही दिनयता भने शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल प्रहरीले विद्यार्थी ठगी गर्ने कन्सल्टेन्सीमाथि छानबिन तीव्र पारेको छ । काठमाडौं उपत्यका दर्ताबिना सञ्चालनमा आएका यस्ता संस्था र विद्यार्थीले आफू ठगीमा परेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले कन्सल्टेन्सीमाथि तीव्र अनुसन्धान अगाडि बढाएको छ ।
वैदेशिक शिक्षा परामर्शका नाममा विद्यार्थीमाथि आर्थिक ठगी गर्ने र दर्तामा नआई सञ्चालनमा आएका कन्सल्टेन्सीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।
उपत्यका अनुसन्धान कार्यालयले दर्ता नभएका मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि छानबिन गर्दा ९५ कन्सल्टेन्सीमा छापा मारेको छ भने ६९ जनालाई पक्राउ गरेको छ ।
जसमध्ये ३१ जना विरुद्ध मुद्दा चलाइएको छ भने ३७ जनालाई भने अनुसन्धान गर्नेगरी हाजिरी जमानीमा छाडिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३१ जनाविरुद्ध लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा मुद्दा चलाएको जनाएको छ ।
विकासन्युजले युएई र दक्षिण कोरिया गएका विद्यार्थीहरू नेपाली कन्सल्टेन्सीबाटै ठगीमा परेको समाचार पटक–पटक प्रसारण गर्दै आएको थियो । पछिल्लो समय नेपालका कन्सल्टेन्सीले दक्षिण कोरिया पठाउँदा एजेन्ट शुल्क र भिसा कोर्डका नाममा आर्थिक ठगी गरेको समाचार विकासन्युजले सार्वजनिक गर्दा सम्बन्धित निकायले बाध्य भएर कानुनी प्रक्रिया अगाडि बढाएको हो ।
सरकारको कदममा विद्यार्थी खुसी
नेपालबाट उच्च शिक्षा हासिल गर्न बर्सेनि डेढ लाख बढी विद्यार्थी बाहिरिन्छन् । जापान, अस्ट्रेलिया, युके, युएई, दक्षिण कोरियादेखि विभिन्न देशमा विद्यार्थी अध्ययनका लागि पुग्छन् । ती देश अध्ययनको लागि पुग्ने क्रममा विद्यार्थीहरू नेपालकै कन्सल्टेन्सीबाट ठगीमा पर्ने गरेको पाइन्छ ।
कतिपय विद्यार्थीलाई राम्रो विश्वविद्यालय भन्दै बन्द भएका विश्वविद्यालयमा पठाउनेदेखि अनावश्यक शीर्षकमा नेपाली कन्सलटेन्सीहरूले विद्यार्थीलाई ठगी गर्दै आएका छन् ।
शैक्षिक परामर्श केन्द्रहरूले शैक्षिक परामर्शका नाममा विद्यार्थीमाथि आर्थिक शोषण गर्दा समेत कुनै कदम नचालेको प्रति विद्यार्थी, अभिभावक असन्तुष्ट बनेका थिए ।
युएई, दक्षिण कोरिया, जापान लगायतका मुलुकमा विद्यार्थी पठाउँदै आएका कन्सलटेन्सीहरूले अनावश्यक शीर्षकमा रकम असुल्ने, विश्वविद्यालयका नाममा इन्स्टिच्युटमा पठाउने र कतिपयले कालो सूचीमा परेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेको गुनासो पटकपटक आउने गरेको थियो । गुनासा पटक-पटक आउँदा समेत यो विषयमा सम्बन्धित निकायले कुनै चासो राखेको थिएन ।
शिक्षा मन्त्रालयले समेत उजुरी आउँदा कारवाही प्रक्रिया बढाएको खोस्रो जवाफ दिइरहेको थियो । सरकारको पछिल्लो कदमले अब विद्यार्थीलाई ठगी गर्ने कन्सल्टेन्सी सही बाटोमा आउने अपेक्षा विद्यार्थीहरूको छ ।
पढाइको सिलसिलामा अहिले काठमाडौंको एक कन्सल्टेन्सीमा अध्ययन गरिरहेका विद्यार्थी अभिषेक यादव सरकारले पछिल्लो समय शैक्षिक परामर्शमाथि थालेको छानबिनले आफूहरूलाई ढुक्क बनाएको बताउँछन् ।
उनी भन्छन्, ‘राम्रो देशमा गएर अध्ययन गर्ने सबैको इच्छा हुन्छ तर बारम्बार कन्सल्टेन्सीले ठगेका समाचारले, कतै म पनि यसरी नै ठगीमा पर्ने त होइन भन्ने लागिरहन्थ्यो । अब ठगी गर्ने र विद्यार्थीलाई सही गाइड गर्ने कन्सलटेन्सी चिनियो भने हामीलाई सजिलो हुन्छ ।’
विज्ञान विषयबाट काठमाडौंमै प्लस टु पढेका उनी अहिले अस्ट्रेलिया जाने सोचका साथ तयारी गरिरहेका छन् । ‘अस्ट्रेलिया गएका विद्यार्थी ठगिएको त्यति सुन्नमा नआएपनि सामाजिक सञ्जाल र मिडियामा आइरहने ठगीका समाचारले डर लागिरहन्छ,’ उनले भने
काठमाडौंमै कक्षा १२ को परीक्षा दिएर बसेका अर्का एक जना विद्यार्थी रमित बड्थापा पनि कन्सल्टेन्सीमाथि भइरहेको छानबिनको खबरले खुसी भएका छन् ।
अमेरिका, अस्ट्रेलिया, जापानबाहेक अन्य देशमा राम्रो विश्वविद्यालय छनोट गरी बाहिर जाने तयारीमा रहेका उनी सरकारको यो कदमले ठगी गर्ने कन्सल्टेन्सी सही बाटोमा आउने अपेक्षामा छन् । अभिषेकजस्तै उनी पनि नेपालकै कन्सटेन्सीले विद्यार्थीलाई ठगिरहेका समाचारले त्रासमा थिए।
उनी भन्छन्, ‘साथीभाइ सबै अध्ययनको शिलशिलामा बाहिरै छन्, म पनि जानुपर्छ भन्ने योजनामा छु । अहिले विभिन्न कन्सलटेन्सीमा कुन विदेशी विश्वविद्यालयले कस्तो सुविधा दिइरहेको छ भन्ने विषयमा बुझिरहेको छु ।’
पछिल्लो समय कतिपय कन्सल्टेन्सीहरूले विद्यार्थीमाथि आर्थिक ठगी गरेका कुरा सार्वजनिक हुन थालेपछि कन्सल्टेन्सीहरू क्यास टु क्यास बार्गेनिङ गर्न थालेका छन् ।
सुरुमा ठगिएको थाहा नपाएका विद्यार्थीले आफू ठगिएको थाहा पाएर आवाज उठाउँदा आवाज दबाउन कन्सल्टेन्सी सञ्चालक नै लाग्ने गरेको विद्यार्थीहरूले बताएका छन् । कतिपय विद्यार्थीले आवाज उठाउन खोज्दा अभिभावकमार्फत मुख बन्द गराउने प्रयाससमेत गरेको विद्यार्थीहरूले बताएका छन् ।
के भन्छन् कन्सल्टेन्सी सञ्चालक ?
केही दिनदेखि धमाधम कन्सल्टेन्सी सञ्चालक पक्राउ पर्न थालेपछि शैक्षिक परामर्श संघ संस्थाले भने आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन), नेपाल शैक्षिकपरामर्श सेवा संघ(नेक्सा)लगायतले विज्ञाप्ती निकाल्दै आपत्ति जनाएका हुन् ।
इक्यानले विभिन्न शैक्षिक परामर्शमाथि भइरहेको अनुगमन छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केही सिमित घटनालाई लिएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधिकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको इक्यानको भनाइ छ ।
‘क्षेत्रको नाममा हुने कुनै पनि प्रकारको ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार वा विद्यार्थी-अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कुनै पनि अवस्थामा स्वीकार गरिदैन। यस्ता कार्यमा संलग्न जोसुकै व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कडा, निष्पक्ष र पारदर्शी कारबाही हुनुपर्छ भन्नेमा इक्यानपूर्ण रूपमा सहमत छ, र यो हाम्रो आचारसंहिता तथा सदस्यता दायित्वको अभिन्न हिस्सा हो । तथापि, हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति इक्यानको गम्भीर चिन्ता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
इक्यानले सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति, वैधानिक संस्थाहरूको प्रतिष्ठामा पर्ने असर तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि पर्ने नकारात्मक प्रभावप्रति संघले स्पष्ट आपत्ति जनाएको छ ।
यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले पनि सबै शैक्षिक परामर्श केन्द्रलाई एउटै डालामो हालेर नहेर्न आग्रह गरेको छ । फोकनले हाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको अनुगमन प्रक्रिया सकरात्मक भए पनि कानूनि प्रक्रिया पुरा गरिसकेका कन्सलटेन्सीले समेत दुःख बेहोर्नु परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
फेकनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फी लगायतका शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाऊने हुँदा धरौटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त छैन । तथापि, यस क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यासहरू देखिएको सन्दर्भमा फेकनले आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारका पहलहरू गर्दै आएको जानकारी गराइन्छ ।’
नेपाल शैक्षिकपरामर्श सेवा संघ (नेक्सा)ले दर्ता नगरी सञ्चालनको हकमा र अन्य त्रुटिहरूमा समान मापदण्डअनुसार कारबाही गर्नु न्यायोचित नभएको बताएको छ ।
दर्ता नगरी सञ्चालनबाहेक अन्य सामान्य प्रशासनिक गल्तीहरूमा पनि संस्थाका सञ्चालक र प्रतिनिधिहरूलाई नियन्त्रणमा लिई भइरहेको अनुसन्धानप्रति नेक्साले गम्भीर आपत्ति जनाएको छ ।
हरेक सानो त्रुटिमा समेत प्रकाउ गरी नियन्त्रणात्मक कारवाही अगाडि बढाउँदा व्यवसायीहरूमा निरुत्साह पैदा भई शैक्षिक परामर्श व्यवसाय नै धरासायी हुने अवस्था सिर्जना हुन सक्छ भन्ने यस संघको धारणा राख्दै नेक्साले दर्ताविना सञ्चालन गर्ने कार्यलाई भविष्यमा निरुत्साहित गर्न शिक्षा मन्त्रालयले कन्सल्टेन्सी दर्ता प्रक्रिया सहज, सरल, र व्यवहारिक बनाउन माग गरेको छ ।
नेक्साले विज्ञप्तिमा भनेको छ, ‘अनुसन्धान प्रक्रिया अगाढी बढ़ाएका शैक्षिक परामर्श संस्था माथि निष्पक्ष अनुसन्धानपछि सबुत प्रमाणले दोषी देखिए मात्र निष्पक्ष र पारदर्शी ढंगले कारबाही अगाढी बढाउन हामी आग्रह गर्दछौं । साथै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित तथा उत्तरदायी वनाउन नेपाल सरकारसंग स्पष्ट ‘शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली’ निर्माण गरी प्रभावकारी मापदण्ड तत्काल लागू गर्न पनि हामी आग्रह गर्दछौं ।’
सम्बन्धित सामग्री :
धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान
कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार
विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा
१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै
विकासन्युजको समाचारका नेक्साको खण्डन