काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ । उक्त निर्देशनमार्फत नेपालमा बीमा सर्भेयरको संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी सर्भेयरले कुल चुक्तापुँजीको अधिकतम ८० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
प्राधिकरणले हिजो (वैशाख १७) गते जारी गरेको निर्देशनको दफा १९ को उपदफा (१) मा शाखा कार्यालय स्थापना वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य सञ्चालन गर्न सक्ने व्यवस्था छ ।

यसैगरी, उपदफा (२) मा प्राधिकरणसँग इजाजत प्राप्त सर्भेयरसँग संयुक्त रुपमा नेपालमा बीमा सर्भेयरको संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी सर्भेयरले त्यस्तो संस्थाको कुल चुक्तापुँजीको अधिकत्तम ८० प्रतिशतसम्म सेयर धारण गर्नेगरी प्रत्यक्ष वैदेशिक लगानी गर्न सक्ने व्यवस्था छ ।
उपदफा १ बमोजिम पूर्वस्वीकृति लिई स्थापना भएको कम्पनीले बीमा सर्भेयरको इजाजत पत्र लिन प्राधिकरणमा निवेदन दिनुपर्ने छ । निवेदन दिँदा संगठित संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र र नियमाली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारीको व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागजातलगात पेश गर्नुपर्ने भनिएको छ ।
संयुक्त बीमा सर्भेयर नियुक्त गर्न सक्ने
विदेशी पुनर्बीमकबाट अनुरोध भएमा वा सम्बन्धित विषयको अनुभवी सर्भेयरको आवश्यकता परी नेपाली र विदेशी सर्भेयरले संयुक्त रूपमा सर्भे गर्नुपरेमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, बीमा सर्भेयरले संयुक्त सर्भे कार्य सम्पन्न गरी सोको विवरण प्राधिकरणको आईआरएमएस प्रणालीमा अपलोड गरी बुझाउनुपर्ने छ ।