काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को अभियोगमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहेका विकल पौडेलविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागले भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र विदेशी विनिमय अपचलनका मुद्दाहरू दायर गरेको थियो ।
हाल उनी जेलमा रहेका छन् । विशेष अदालतले पौडेललाई २ वर्ष कैद सजाय सुनाएकाे थियाे ।
राजस्व अनुसन्धान विभागका अनुसार पर्वतको साविक कटुवाचौपारी- ४ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ-९ बस्ने ४३ वर्षीय विकल पौडेल र उनकी पत्नी एलिनाले विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको पाइएको हो ।
यसअघि विभागले उनीहरूविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ विगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा दायर गरिसकेको थियो ।
विदेशी विनिमय अपचलनबाट आर्जित सम्पत्तिको विषयमा थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ विपरीतका कार्यहरू गरेको पुष्टि भएको विभागले जनाएको छ । सोही आधारमा विभागले वैशाख १६ गते काठमाडौं जिल्ला अदालतमा थप अभियोग पत्र दर्ता गरेको छ ।
विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा गरी कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा बिगो दावी गरिएको छ ।
विभागले प्रतिवादीहरूबाट बिगो बमोजिमको रकम असुल गरी सोही ऐनको दफा ३० को उपदफा ९१० बमोजिम बिगोको दोब्बर जरिवाना, कसूरको मात्रा अनुसार कैद सजाय र अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदावी गरेको छ ।
यो मुद्दा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत अदालतमा दर्ता गरिएको हो ।
