सरकारले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढायो

दुई सातामा दुई पटक बढ्यो सार्वजनिक यातायातकाे भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादरमा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने यात्रुवाहक र ढुवानीका दुवै सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।

यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनमा भएको यो ३०.४१ प्रतिशतको वृद्धिलाई नै भाडा बढाउनुपर्ने मुख्य आधार मानिएको छ । 

यसअघि गत चैत २५ गते मात्रै सरकारले १३ वटा सूचकलाई आधार मानी यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत र मालवाहक सवारीमा क्षेत्रअनुसार २१.६८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

तर, त्यसयता डिजेलको मूल्यमा भारी वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा पुनः समायोजन गर्न निरन्तर दबाब दिँदै आएका थिए । 

व्यवसायीको माग र बजार मूल्यको विश्लेषण गर्दै विभागले वैशाख ९ गते यात्रुवाहकका लागि ९.८ प्रतिशत र ढुवानीका लागि १२ देखि १४ प्रतिशतसम्म भाडा बढाउन सिफारिस गरे पनि मन्त्री लम्सालले ५ प्रतिशत मात्र वृद्धिको निर्णय स्वीकृत गरेका हुन् ।

यो नयाँ निर्णयसँगै लामो दूरीका यात्रु तथा व्यवसायीहरू प्रत्यक्ष प्रभावित हुने देखिएका छन् ।

null

Share News