काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी–पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स प्रयोग गरौं’ भन्ने देशव्यापी सचेतना अभियान सुरु गरेको छ ।
गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडीधनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू, विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र तथा यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन् ।
‘सक्कली टाटा जेन्युन पार्ट्स यसरी चिन्नुहोस्’ भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएर सक्कली पार्ट्सको महत्त्वबारे जानकारी दिइरहेको छ ।
बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छ । पहिलो, टाटा जेन्युन पार्ट्स र टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन ।
दोस्रो, सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने ‘कन्ट्री कोड’ राखिएको हुन्छ । तेस्रो, पार्ट्स वा फ्लुइड्सको बट्टामा ‘सिप्रदी अटोपार्ट्स’ को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ, जसलाई हेरेर मात्र खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्राविधिकहरूका अनुसार नक्कली पार्ट्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो परे पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ । सक्कली पार्ट्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
सरकारले सीमामा गरेको कडाइले नक्कली पार्ट्सको व्यापार निरुत्साहित भइरहेको अवस्थामा मुख्य सहरहरूबाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट जोगाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । सिप्रदी अटोपार्ट्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा आफ्नै नेटवर्कमार्फत मात्र टाटाका जेन्युन पार्ट्स खरिद गर्न अनुरोध गरेको छ ।