प्यारामाउन्ट मोटर्सले ल्याउँदै एमजी यू नाइन ईभी

काठमाडौं । नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण विद्युतीय पिकअप ‘एमजी यू नाइन ईभी’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

अत्याधुनिक प्रविधि, विलासी डिजाइन र शक्तिशाली प्रदर्शनसहितको यो गाडी लक्जरी र फ्ल्यागशिप गरी दुई विशेष भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार एमजी यू नाइन ईभी नेपाली सडकका लागि एक शक्तिशाली तथा भरपर्दो विकल्पका रूपमा प्रस्तुत गरिएको हो ।

यसमा जडान गरिएको ड्युअल मोटर (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट) ले कुल ३२५ किलोवाटसम्मको पावर र ७०० एनएम टर्क प्रदान गर्दछ। यो पिकअपले केवल ५.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ ।

गाडीमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरूले कठिन भू–बनोटमा समेत सहज र आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङ प्रविधिमार्फत यसलाई केवल ४२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

गाडीको भित्री बनावट अत्यन्तै विलासी बनाइएको छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ जस्ता सुविधा रहेका छन्।

फ्ल्यागशिप भेरियन्टमा चालकका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज तथा मेमोरी फङ्सनसहितको सिट उपलब्ध छ ।

सुरक्षाका लागि ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम (एडीएएस) फिचरहरू समावेश गरिएको छ ।

यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि रहेको कम्पनीले जनाएको छ । यसको ३५०० केजीसम्मको लोडिङ क्षमता र भीटूएल प्रविधिका कारण प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणसमेत सञ्चालन गर्न सक्नेछन् ।

नेपाली बजारमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एमजी यू नाइन ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले व्यक्त गरेको छ ।

Share News