काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका बस्तीहरू खाली गराउने सरकारको अभियानले तीव्रता पाएको छ ।
यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको सुकुम्बासी बस्ती पूर्ण रूपमा खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र ३१ को शान्तिनगरमा हटाउने कार्य जारी छ ।
साथै, कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार र मनोहरा टोलका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी भइरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार यी ५ क्षेत्रमा गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।
विगतका झडप र विवादका तुलनामा यसपटक थापाथलीमा स्थानीयको सहयोगका कारण शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ । नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरिरहेका छन् । हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्याएर विवरण सङ्कलन गरी तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी गरिएको छ ।
उनीहरूका घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा छुट्टाछुट्टै राखिएको छ ।
होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिदेखि नै सुरु गरिनेछ ।
छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ ।
त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।