काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन् । कांग्रेस तनहुँको शनिबार (आज) आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए ।
वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औंल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे ।
‘पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ’, उनले भने ।
महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे ।