विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य कार्यान्वयन गर्न विभागको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले हालै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थी सहुलियतको कानुनी अधिकार पालना गर्न ताकेता गरेको हो । 

इन्धनको मूल्य वृद्धि भएको बहानामा कतिपय सवारी साधनले विद्यार्थीलाई छुट दिन आनाकानी गरेको र विद्यार्थी परिचयपत्र देखाउँदा समेत चालक तथा सहचालकले दुव्र्यवहार गर्ने गरेको उजुरीहरू हेलो सरकार र विभागको गुनासो पेटिकामा बढेपछि यो कदम चालिएको हो । 

विगत लामो समयदेखि कार्यान्वयनमा रहेको यो व्यवस्था सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको सहमतिमा आधारित छ ।

सोही सहमति अनुसार परिचयपत्रवाहक विद्यार्थीले सार्वजनिक सवारीको भाडामा ४५ प्रतिशत सहुलियत पाउने अधिकार सुनिश्चित गरिएको विभागले स्मरण गराएको छ । 

विभागका अनुसार कतिपय क्षेत्रमा यो नियम पालना नभएको गुनासो आएकाले अबका दिनमा अनुगमनलाई तीव्र बनाइनेछ ।

यदि कुनै पनि सवारी साधनले विद्यार्थीलाई छुट दिन अस्वीकार गरेमा वा नियम उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत विभागले दिएको छ ।

 

Share News