रुपनी जि एम
सुर्खेत । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो ।
चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् ।
शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि रहेका छन् । उनी भन्छन्, 'छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।'
सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ ।
पाँच वर्ष जापान बसाइ सकेर फर्किएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए । उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उनले भने, 'उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।'
जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । 'मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँ', उनले भनिन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ ।
यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन् । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् ।
समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ ।
प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उनी बताउँछन् । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ ।
प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ । यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।
सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो । रासस