काठमाडौं । सन् २०२६ को वसन्त ऋतुको सुरुदेखि हालसम्म हिमाल आरोहीबाट ७५ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । पर्यटन विभागका अनुसार ८५ सय आरोहीबाट हालसम्म ७५ करोड ५८ लाख ६८ हजार २८२ रुपैयाँ जम्मा भएको हो ।
८५ समूहबाट वसन्त ऋतुमा ७ सय जनाले विभिन्न २५ हिमाल आरोहण गरेका छन् ।
सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ६५ करोड २६ लाख १५ हजार ६१२ रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि ३० आरोही समूहबाट २९७ जना त्यसतर्फ गएका छन् । जसमध्ये २३४ जना पुरुष र ६३ जना महिला छन् ।
सगरमाथापछि मकालु हिमालबाट २ करोड ३६ लाख २९ हजार ४ सय रुपैयाँ रोयल्टी उठेको छ । उक्त हिमालमा आरोहणको लागि ८ आरोही समूहबाट ५४ जनाले अनुमति लिएका छन्।
धौलागिरी हिमालबाट १ करोड २५ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमालमा आरोहणको लागि ३ जना समूहबाट २८ जनाले अनुमति लिएका छन् । लोत्से हिमालबाट १ करोड ८३ लाख ४६ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
अन्नपूर्ण हिमालबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी उठाएको छ । उक्त हिमाल आरोहणको लागि ४ समूहबाट २७ जना आरोहीले अनुमति लिएका छन् ।
आमदवलामबाट १ करोड ४ लाख ३६ हजार ५५० रुपैयाँ संकलन भएको छ । त्यस्तै कञ्चनजंघा हिमालबाट ९७ लाख ६३ हजार ९५० रुपैयाँ राजश्व उठेको छ ।
यसैगरी, अन्नपूर्ण (आईभी) बाट १९ लाख १८ हजार ४५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणको लागि दुई समूहबाट १३ जनाले अनुमति लिएका छन् ।
अन्य हिमालहरूमा चुलु फार इस्टबाट ६ लाख २१ हजार २५० रुपैयाँ, सारीबुङबाट ६ लाख ७१ हजार ७०२ हजार रुपैयाँ, थ्रोङ पिक ७ लाख २७ हजार ५४५ रुपैयाँ, नुप्से ४२ लाख ९३ हजार ६ सय रुपैयाँ, हिमलुङ हिमालबाट ४५ लाख ६ हजार रुपैयाँ, मनास्लु हिमालबाट ४ लाख ५४ हजार २ सय रुपैयाँ र मकालु १० लाख ३६ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।