राष्ट्रिय जीवन बीमा कम्पनी 'पेपरलेस' बन्दै, अब घरैबाट बीमा शुल्क तिर्न सकिने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाएको छ ।

कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'मोबाइल एप' सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको घोषणा गरेको हो ।

कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवा प्रवाहमा पारदर्शिता र सहजता ल्याउन यो नयाँ कदम चालेको जनाएको छ ।

अब सेवाग्राहीले गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

बीमा शुल्क र कर्जाको साँवा-ब्याज भुक्तानीका लागि अब कार्यालयसम्म धाउनुपर्ने छैन । ग्राहकले कनेक्ट आईपीएस, ईसेवा, खल्ती तथा फोनपेजस्ता डिजिटल माध्यमबाट घरैबाट भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले दाबी भुक्तानी र भेन्डर भुक्तानी लगायतका सबै खर्च प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । यसले भुक्तानी प्रक्रियालाई छिटो र छरितो बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीले "सुरक्षित भविष्य र डिजिटल सेवा, राष्ट्रिय जीवन बीमाको टेवा" भन्ने नाराका साथ प्रविधिको उच्चतम प्रयोग सुरु गरेको हो । यसबाट सेवा प्रवाहमा सुरक्षा, प्रभावकारिता र विश्वसनीयता कायम हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा पनि सूचना प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै सबै ग्राहकहरूलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.rbs.gov.np हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

Share News