अब एकै जनाको नाममा जतिपनि डिम्याट खाता खोल्न मिल्ने, यस्ता छन् सेयर बजार सुधारका योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारसँग सम्बन्धी सुझाव तत्काल कार्यान्वयन गर्ने भएको छ । धितोपत्र बोर्डले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन प्रतिवेदनमा भएका सुझाव तत्काल कार्यान्वयन गर्ने भएको हो ।

मंसिर १५ गतेभित्र सुझाव कार्यान्वयन गर्ने गरी बोर्डले कार्यतालिका नै तयार पारेको हो । 

कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गबाट प्रदान गरिने इटरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआईएन)मा एकरुपता कायम गर्न निश्चित मापदण्ड कार्यान्वयन गर्ने बोर्डले जनाएको छ ।

यस्तै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता (डिम्याट खाता) खोल्न सक्ने व्यवस्था गरिनेछ । उक्त व्यवस्था कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जनाएको छ । 

साथै, मंसिर १५ गतेभित्र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने जनाएको छ ।

धितोपत्र बोर्डका अनुसार संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था, नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा वर्गीकरण पश्चात् जेड समूहमा कम्पनीहरूको कारोबार गर्दा सतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गरिनेछ । 

यस्तै, लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने काम पनि तत्काल कार्यान्वयन गरिने बोर्डले जनाएको छ ।

लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने काम भने निरन्तर रहेको बोर्डको भनाइ छ ।
null

Share News