सीईओहरुलाई सुवेदीले भने- बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, समयमै एडभान्स दिनु

पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । प्रमुख अधिकृतहरूसँग हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ ।

छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । सुवेदीले  बीमा दाबी भुक्तानी योग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुने हुँदा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यामा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए ।

उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एडभान्स रकम दिनुपर्यो ।’ 

बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका सीईओहरुले  आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन कम्पनी सक्षम रहेको र यसमा समस्या नभएको बताएका छन् । उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमकले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।

कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको छलफलमा सीईओहरुले जानकारी दिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको थप प्रष्ट पार्दै पुनर्बीमा बापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुव तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

Share News