बीमामा सानो गल्ती ठूलो समस्या, ध्यान दिनैपर्ने यी १० कुरा

सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ

काठमाडौं । बीमा अनिश्चित जोखिमबाट सुरक्षित हुने माध्यम हो । तर, धेरैले बीमाको वास्तविक फाइदा के हो भनेर बुझेका छैनन् । अरूले भनेको र सुनको आधारमा बीमा गर्ने धेरै जना छन् । धेरैजसो बीमितले नबुझीकन पोलिसी किन्छन् । तर सर्त, विवरण र दाबी प्रक्रिया बुझ्दैनन् । यसले पछि समस्यामा पार्छ ।

बीमाबाट वास्तविक फाइदा लिनको लागि बीमा गर्दा नै बीमित सचेत हुनुपर्छ । सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणले आफ्नै वेबसाइटमा बीमा सचेतनासम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनामा बीमितले बीमा गर्नुअघि ध्यान दिनुपर्ने थुप्रै विषय स्पष्ट गरिएको छ । 

प्रस्ताव फाराम स्पष्ट र सही भर्नुपर्ने 

बीमा प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले सम्पूर्ण विवरण  स्पष्टसँग खुलाई भर्नुपर्छ । फाराममा पेसा, व्यवसाय, उमेर, स्वास्थ्य अवस्था र आम्दानीका स्रोतहरू खुला रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि गलत वा अपूर्ण जानकारी फारममा उल्लेख गरेको छ भने बीमा दाबी अस्वीकृत हुन सक्छ ।

बीमा सम्बन्धी प्रस्ताव फाराम स्वयंले भर्ने 

प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले स्वयंले सही र पूर्ण विवरणसहित भर्नुपर्छ । यदि बीमित निरक्षर छ वा फाराम भर्न सक्दैन भने, तोकेको व्यक्तिले मात्र फाराम भर्न सक्ने व्यवस्था हुन्छ ।

बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी

बीमालेखमा उल्लेखित सर्त एवं सुविधा बुझेर मात्रै बीमा गर्ने 

धेरै जनाले बीमा गर्दा बीमा पोलिसी नबुझीकन बीमा गर्ने गरेको पाइन्छ । कस्तो अवस्थामा दाबी पाइन्छ, पाइँदैनदेखि लिएर सबै सर्तहरु पोलिसीमा उल्लेख गरिएको हुन्छ । तर, बीमितले कुन-कुन अवस्थामा के-के जोखिम कभर हुँदैन भन्ने कुरा नबुझ्दा पछि समस्या आउने गरेको थुप्रै उदाहरणहरू छन् । प्राधिकरणले बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा बुझेर मात्र बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ ।

आवश्यकता र आम्दानीअनुसार बीमा गर्ने

बीमितले आफ्नो आवश्यकता, पेशा व्यवसाय एव आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ, प्राधिकरणले भनेको छ, ‘ अन्यथा समय अवधि नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन्छ ।’

धेरैले बीमालाई नाफा कमाउने माध्यमको रुपमा बुझ्ने गरेका छन् । वास्तवमा बीमाको उद्देश्य जोखिम कभर हो । नाफा कमाउने माध्यमको रुपमा बुझेर कतिपय बीमितले आफ्नो आर्थिक हैसियत भन्दा माथि रहेर बीमा गर्ने गर्छन् र पछि निरन्तरता दिन नसक्दा बीचमै पोलिसी सरेण्डर गर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्नकै लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

बीमा शुल्क, नवीकरण र दाबीबारे स्पष्ट जानकारी

बीमा गरेपछि बीमितले आफ्नोतर्फबाट सबै काम सकियो भनेर चुपचाप बस्ने गरेको पनि पाइन्छ । तर बीमा शुल्क बुझाउने समय, नवीकरण, दाबी प्रक्रियाबारे भने राम्रोसँग बुझेका हुँदैनन् । प्राधिकरणका अनुसार बीमालेख खरिद गर्नु अघि बीमा शुल्क बुझाउने समय, नवीकरण मिति, इच्छाएको व्यक्तिको नाम र दाबी रकम पाउने वा नपाउने अवस्था बारे स्पष्ट हुनुपर्छ । त्यस्तै बीमा शुल्क बुझाएपछि अनिवार्य रुपमा आधिकारिक रसिद लिनु बिर्सनु हुँदैन ।

बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी

बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ । प्राधिकरणका अनुसार बीमा अभिकर्ता वा अरूले भनेको आधारमा मात्रै विश्वास गरेर पोलिसी लिनु हुँदैन । आफूले कुन कम्पनीमा बीमा गर्न लागेको हो त्यसबारे बीमित आफै स्पष्ट हुनुपर्छ । 

सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने

बीमा सम्बन्धी नीति-नियमबारे सामान्य जानकारी बीमितले राखि राख्नुपर्छ । प्राधिकरणका अनुसार बीमालेख, भुक्तानी रसिद र सम्पर्क विवरणहरू सुरक्षित रूपमा राख्नुपर्दछ । प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्धी यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्ने प्राधिकरणको सल्लाह छ ।

परिवारलाई जानकारी 

बीमा गरेपछि आफ्नो परिवार वा इच्छाइएको व्यक्तिलाई बीमाको प्रकार, कम्पनीको नाम, पोलिसी नम्बर र दाबी प्रक्रिया बारे जानकारी गराउनुपर्छ । कतिपय अवस्थामा परिवार वा इच्छाएको व्यक्तिले यसबारे जानकारी नपाउँदा बीमाबाट पाउने सुविधा गुमाइरहेका हुन्छन् । 

Share News