काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ कार्यक्रम फेरि कार्यान्वयनतर्फ अगाडि बढ्ने भएको छ ।
एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) मा नेपाल सरकारलाई पठाएको पत्रअनुसार सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले गरेको पुनरावलोकन प्रक्रिया अब औपचारिक रूपमा समाप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो पत्रमा एमसीसीको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ ।
नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण तथा सडक सुधार परियोजना कार्यान्वयन गर्ने सहमति भएको थियो ।
तर सन् २०२५ मा राष्ट्रपति कार्यालयबाट परियोजना पुनरावलोकनमा जाने निर्णय भएको थियो । यस निर्णयपछि नेपालमा एमसीसीसम्बन्धी कार्यहरू केही समयका लागि स्थगित भएका थिए ।
हाल पुनरावलोकनको कार्य समाप्त भई नेपाल कम्प्याक्ट कार्यान्वयन पुनः सुरु गर्ने सिफारिस आएको जानकारी अर्थ मन्त्रालयले सरोकारवालालाई दिएको छ ।