काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालि (लबिम मल)ले एक वर्षमा साढे ३५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । लबिम मलले सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । अघिल्लो वर्ष सन् २०२३ मा कम्पनीले ३४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा ३.१८ प्रतिशत अर्थात् १ करोड १० लाख रुपैयाँ बढीको व्यवसाय गरेको हो ।
कम्पनीले सन् २०२२ मा २८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा २० करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
लबिम मलमा राजेशकुमार सिद्धिसहित चार जनाको सेयर स्वामित्व रहेको छ । कम्पनीका अनुसार राजेशकुमार सिद्धिको ३७ प्रतिशत, नकिम उद्दीनको २६ प्रतिशत, भाष्कर ढुंगानाको २० प्रतिशत र रेशु अर्याल ढुंगानाको १७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
ललितपुरको पुल्चोकस्थित पाटन बहुमुखी क्याम्पसको ११ रोपनी जग्गा २५ वर्षका लागि लिजमा लिएर सन् २०१६ देखि लाबिम मल ब्राण्डको नामबाट सञ्चालनमा आएको थियो । तर सन् २०१७ देखि भने पूर्ण व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
कम्पनीले ६३ करोड ६ लाख ५० हजार रुपैयाँ बैंकिङ ऋणका लागि इन्फोमेरिक्स रेटिङ नेपालबाट रेटिङ गराएको छ । इन्फोमेरिक्स रेटिङ नेपालले ६० करोड ६ लाख ५० हजार रुपैयाँ दीर्घकालिन ऋणका लागि डबल बी रेटिङ प्रदान गरेको छ भने ३ करोड रुपैयाँ अल्पकालीन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ ।
मलमा बुटिक, रेस्टुरेन्ट, विभिन्न पसलसहित क्यूएफएक्स सिनेमा हलहरु सञ्चालनमा छन् ।
विसं २०५७ मा व्यवसायिक भवन सञ्चालन गर्ने उद्देश्यसहित न्युरोडको विशाल बजार कम्पनीले पाटन क्याम्पसको जग्गा भाडामा लिएको थियो । २ वर्षमा भवन निर्माण गरी ३० वर्षका लागि प्रयोग गर्ने सम्झौता भएको थियो । तर, विशाल बजार कम्पनीले लामो समयसम्म चलाउन नसकेपछि ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि पाटन क्याम्पस र लबिम मलबीच २०७२ मा २५ वर्षका लागि भाडामा लिने सम्झौता भएको हो ।