सञ्चालकले जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आयोः प्राधिकरण अध्यक्ष

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन्। 

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका मूल्य मान्यता र सिद्धान्तका बारेमा सरकार र सञ्चालक सबैलाई थाहा छ । तर, जिम्मेवार भएर काम नगर्दा समस्या आएको हो ।’ 

अभियानले अविभावकत्व बहन नगर्दा समस्या आएको बताउँदै उनले भने, ‘सहकारीमा स्वनियमनका नाममा सबै आफैलाई मालिक बनाइयो । नियामक निकायको पनि कमजोरी छ । १६/१७ वर्षको बच्चालाई अभिभावकले स्वतन्त्र रूपमा छाडे जस्तो देखियो ।’

सोही कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले अर्थतन्त्रको प्रमुख खम्बा मानिएको सहकारी क्षेत्र बिना आर्थिक विकास र समृद्धिका कुरा गर्नु न्यायोचित नहुने बताए । 

‘आर्थिक विकासको संवाहक सहकारी पनि हो । समुदाय स्तरमा चल्ने स्वनियमन र स्वनियमनमा चल्ने संस्थाका सदस्यहरू नै मालिक हुने संस्था हो । संविधानमा नै तीन खम्बे नीतिमा अंगिकार गरेको छ ।’ 

तर, पछिल्लो समयमा सहकारीमा सुशासनको समस्या देखिएको उनले बताए । उनले भने, ‘सञ्चालकहरुको बदमासीले समग्र सहकारीमा असर परेको छ । सबै सहकारीमा समस्या छैन भनिएको छ । तर, नियमनका क्रममा राम्रा भनिएका सहकारी संस्थामा पनि आन्तरिक रूपमा कमजोर रहेको पाइएको छ । जनशक्ति अभावका कारण विभागको नियमन क्षेत्रका सबै सहकारीमा नियमन गर्न सकेका छैनौं । तर, राम्रा भनिएका सहकारीमा आन्तरिक मूल्यांकन गर्दा कमजोर रहेको पाइएको छ ।’ 

राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको सशक्तिकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारहरूलाई सहकारीको सकारात्मक पक्षसमेत उजागर गर्न आग्रह गरिन् ।

‘पत्रकारहरुको कलम निरन्तर खबरदारी गर्न र सहकारीमा भएका राम्रा पक्ष उजागर गर्न आवश्यक छ । अहिलेको विषम परिस्थितिमा पनि सहकारीले राम्रो काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सकिन्छ, जसले अन्य क्षेत्रका व्यक्तिमा पनि सहकारीप्रति सकारात्मक धारणा बनाउन सहयोग पुर्याउँछ,’ अध्यक्ष मल्लले भनिन् ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीलाई संविधानको तेस्रो पिल्लरको रूपमा स्वीकार गरिएपनि व्यवहारमा त्यसअनुसारको न्याय नभएको टिप्पणी गरे । 

‘सहकारीलाई संविधानको तेस्रो पिल्लरको रुपमा पछिल्लो परिवर्तनले स्वीकार गरेको विषय हो । सरकारको प्राथमिकता भित्र पनि सहकारीको विषय छ । तर, पूँजी र भूगोलभित्रको उपस्थितिलाई हेरेर न्याय गर्नुपर्ने पक्षमा आवश्यक ध्यान दिइएको देखिँदैन,’ उनले भने । 

सहकारी क्षेत्रका सम्भावनाहरू अवरोध गर्ने नभई संस्थागत रूपमै अगाडि बढाउनुपर्ने उनले बताए ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्र सुधारका लागि अभियान एकढिक्का हुन आवश्यक रहेको बताए । 

उनले भने, ‘सहकारी पारदर्शी छ भनेर आम मानिसमा सकारात्मक ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्नेतर्फ अभियान लाग्नुपर्छ । सहकारी अरु भन्दा भिन्न छैन, सबैले थाहा पाउने हुनुपर्छ, पारदर्शी हुनुपर्छ । अभियान डराउन हुँदैन ।’

साथै उनले सहकारी अभियान इमान्दार रुपले जिम्मेवारी पुरा गर्न नलाग्ने हो भने र मिडियाले झक्झकाएको कुरालाई आत्मसात गर्न सकिएन भने अघि बढ्न नसक्ने बताए। 

यसका साथै उनले अभियानले ग्रामीण भेग सञ्चालित सहकारीमा क्षमता र दक्षता नभएका कर्मचारीहरूको क्षमता अभिवृद्धिमा लाग्नुपर्ने बताए । 

कार्यक्रममा सहकारीको नीति, दीगोपना, भावी रणनीति, दिगो विकास, पारदर्शिता तथा सदस्यहरूको विश्वास बढाउने उपायबारे पनि छलफल गरिएको थियो । 

कार्यक्रममा डा. नवराज सिम्खडा र सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी संस्थाको दिगोपनाका लागि भावी रणनीति माथि कार्यपत्र प्रस्तुत गरेका थिए। 

सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सीजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी महासंघ, विषयगत केन्द्रीय संघ, प्रदेश संघ, प्रारम्भिक सहकारी र स्थानीय तहका प्रतिनिधिहरुको प्रतिनिधित्व थियो ।

Share News