विद्युत आयात तत्काल शून्यमा झार्न सकिँदैन, अझै केही वर्ष कुर्नुपर्छ : शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ९७.५ विद्युत पहुँच पालिकाको हिसाबले विद्युत पहुँच पुगेको बताएका छन् ।

शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार वडाका हिसाबले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।

माग र आपूर्तिको असन्तुलन वर्षायामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युतको माग बढिरहेको छ र पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए।

उनले भने, ‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपणअनुसार ०८२/८३ मा वर्षायाममा २ हजार ६४८ मेगावाट, ०८३/८४ मा ३ हजार ३१६ मेगावाट विद्युत जगेडा रहनेछ । यो निर्यात हुनुपर्ने देखिएको छ ।  तर त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’

शाक्यले आगामी दिनमा विद्युत आयात शून्य नहुने बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनको भनाइ छ ।

शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्छ । 

यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्छ । 
 

Share News