वीरगञ्ज बालसुधार गृहमा तनाव : बारम्बारको अनुगमनले बाल कैदीबन्दी आक्रोशित

<p>काठमाडौं । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीहरूले खाना, बास लगायतका समस्या रहेको भन्दै मंगलबार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । बालसुधार गृहमा बाल कैदीबन्दीहरूले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता [&hellip;]</p>

काठमाडौं । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीहरूले खाना, बास लगायतका समस्या रहेको भन्दै मंगलबार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

बालसुधार गृहमा बाल कैदीबन्दीहरूले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् । अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरूसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र, प्रहरी नायब उपरीक्षक किशोर लम्सालसहितको टोलीले छलफल गरी उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएपछि स्थिति सामान्य बनेको उनले बताए।

बालसुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दी छन्, तर सुधार गृहको क्षमता मात्र ५० जनाको छ। बाल कैदीबन्दीहरू आक्रोशित हुनुमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको बारम्बारको अनुगमन रहेको बताइएको छ।

प्रवक्ता लम्सालका अनुसार एक महिनामा अनुगमनका लागि ५ देखि ७ पटकसम्म टोली आउने गरेको छ। तीन वर्षदेखि यो क्रम जारी छ, तर अनुगमनका क्रममा दिइएको आश्वासन अहिलेसम्म पूरा नभएपछि बाल कैदीबन्दीहरू आक्रोशित भएका हुन्।

उनी भन्छन्, ‘बालसुधार गृहमा रहेका १२७ जना बाल कैदीबन्दीहरूले प्रशासनसँग असन्तुष्टि जनाएका छन् । बारम्बार विभिन्न निकायहरू अनुगमनका लागि आउँछन्, समस्या समाधान गर्ने आश्वासन दिन्छन्, तर सुधार केही भएको छैन । खानेपानी, गर्मी, सुत्ने ठाउँ लगायतका न्यूनतम सुविधाबाट बाल कैदीबन्दीहरू वञ्चित छन् । यसले गर्दा उनीहरू झन् आक्रोशित भएका हुन् ।’

बालसुधार गृहका बाल कैदीबन्दीहरूले सुरक्षाकर्मीको उपस्थिति रहेको समयमा होहल्ला गर्दै तोडफोडको प्रयास गरेका थिए । प्रवक्ता लम्सालका अनुसार बाल कैदीबन्दीहरूले एउटा ताला फुटाउने प्रयास गरे पनि सफल हुन सकेनन् । सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए ।

यसअघि २०८० भदौ २६ गते पनि बालसुधार गृहमा बाल कैदीबन्दीहरूबीच झडप हुँदा ११ बाल कैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

Share News