
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले, घिसिङलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्नेमा सरकारले अनावश्यक रूपमा हटाएको टिप्पणी गरे । उनले अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु अनुचित भएको भन्दै प्रश्न उठाए ।
‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारूढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गर्यो, ‘ उनले भने ।
महामन्त्री शर्माले प्रतिपक्षी दलले यस विषयमा समय माग्नु र सभामुखले समय दिनु समेत गलत भएको बताए । साथै, लोकतान्त्रिक प्रणालीमा अदालतको फैसला नै सर्वोपरी हुने भएकाले यस विषयलाई अदालतले टुंग्याउनुपर्ने धारणा व्यक्त गरे ।
फरक सन्दर्भमा बोल्दै शर्माले तीनकुने घटनामा भएको धनजनको क्षतिप्रति सबै दुःखी भए पनि निर्मल निवासले कुनै प्रतिक्रिया नजनाएको आरोप लगाए ।
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जनताका निराशा समाधान गर्दै जानुपर्छ, तर त्यसको समाधान राजतन्त्र होइन, ‘ उनले भने ।
उनले लोकतान्त्रिक व्यवस्थाले नै जनताको समस्या हल गर्ने दिशामा जानुपर्छ भन्दै, गणतन्त्र सुदृढ गर्न सबै राजनीतिक दलले जिम्मेवारी बहन गर्नुपर्ने बताए ।