काठमाडौं । समाजवादी मोर्चाले चैत्र १५ गतेको राजावादी आन्दोलनलाई आततायी र जंगली चरित्रको भएको ठहर गरेको छ।
सोमबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा बसेको बैठकले राजावादी आन्दोलनको कडा आलोचना गर्दै गणतन्त्रको रक्षा गर्न जनतालाई सचेत र संगठित बनाउने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चाको कार्यक्रम शालिन र सशक्त रहेको दाबी गर्दै गणतन्त्रको रक्षाका लागि मोर्चा अझै बलियो बनेको बताए ।
उनले भने, ‘यदि समाजवादी मोर्चाको विरोधसभा नभएको भए, कोटेश्वरमा देखिएको प्रतिगामी तत्वहरूको गतिविधि झन् भयावह बन्न सक्थ्यो । राजावादीहरूको गतिविधि जंगली प्रवृत्तिको देखियो, जसले देशमा अशान्ति मच्चाउने खतरा निम्त्याउँछ ।’
समाजवादी मोर्चाले राजावादी आन्दोलन योजनावद्ध रहेको निष्कर्ष निकाल्दै सरकारलाई घटनाका संलग्नलाई कारबाही गर्न माग गरेको छ । साथै, तीनकुने घटनाका योजनाकारहरूबाट क्षतिपूर्ति असुल गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
मोर्चाले देशको वर्तमान परिस्थितिमा विदेशी शक्ति पनि कतै न कतै संलग्न हुनसक्ने आशंका व्यक्त गर्दै गणतन्त्रविरोधी षड्यन्त्रको भण्डाफोर गरी कडा कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।