काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था भएन भनेर गुनासो गर्नेमाथि टिप्पणी गरेका छन् । शुक्रबार व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले देश बनेन भन्नेमाथि टिप्पणी गरेका हुन् ।
केही दशकअघि काठमाडौंमा कुनै विकास नभएको बताउँदै उनले पहिलेकाे तुलनामा अहिले आकाश पातल रहेको बताए ।
‘धेरैले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर गुनासो गर्नुहुन्छ, म तिनीहरुलाई के भन्छु भने केही वर्षअघि मात्रै काठमाडौंमा स्याल कराउँथेँ, बेलुका साँझ परेपछि स्याल कराउन सुरु हुन्थे, काठमाडौं भनेपछि दरबार, सिंहदरबार, रानीपोखरी, धरहरा, असन, इन्द्रचोक, बानेश्वर लगायत केही ठाउँमात्रै थिए, अहिले काठमाडौं भरिभराउ छ, अनि विकास भएन भन्ने ?’
यस्तै, उनले विगतमा काठमाडौंमा एक लेनको सडकमात्रै भएपनि अहिले ठूल्ठूला लेनको सडक भएको धारणा राखे । ‘अहिले चौडा-चौडा सडक बनेका छन्, विगतमा काठमाडौंमा बाइक थिएन, उहिलेको काठमाडौंभन्दा अहिलेको बिर्तामोड ठूलो भइसकेको छ, त्यहाँ पनि एक करोडमा एक धुर जग्गा पाइँदैन,’ उनले प्रश्न गर्दै भने, ‘यो परिवर्तन कसरी आयो ?’
कार्यक्रममा उनले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न नदिने धारणा राखे । धेरैले कम्बोडिया तथा स्वीजरल्याण्डको बैंकमा आफ्नो पैसा रहेको दुष्प्रचार गरेको बताउँदै त्यसलाई नपत्याउन आग्रह गरे ।
‘एउटा रोटी र दाल खान्छु, मेरो खाना सामान्य हुन्छ, साथीहरुसँगै बसेर खाना खान्छु, मेरो खाना र बेड रुम खुला हुन्छ । लुकाउनु पर्ने कुरा केही पनि छैन, अनि ममाथि अनेक कुराको हल्ला किन फैलाइन्छ,’ उनले भने ।
यस्तै, उनले पत्रकारिताको भाषाप्रति पनि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल विधेयकको विषयमा उठेएका सवालहरुको विषयमा आफ्नो धारणा राख्दै उनले पत्रकारिताको भाषामा पनि प्रश्न उठाएका हुन् ।
‘राष्ट्रपतिलाई भेट्न जाँदा हामी सम्माननीयज्यू तपाईं कस्तो छ भन्छौं, राष्ट्रपति तिमीलाई कस्तो छ त भन्दैनौं नि, अनि समाचार लेख्दा तथा भिडियोमा बोल्दा उनले भने, उनले बताए किन लेख्ने ?’ उनले थपे, ‘यो हाम्रो भाषा र सभ्यता होइन ।’
उनले जे कुरा पनि भन्ने, जस्तो पनि बोल्ने र दुव्यर्वहार गर्ने नेपाली संस्कार नभएको बताए । नेपाली सभ्य समाज भएकोले सभ्य हुनैपर्ने उनको धारणा छ ।
यस्तै, उनले नेपाल केही आर्थिक रुपमा पछाडि परेको भएपनि अब पछाडि नपर्ने धारणा राखे । कार्यक्रममा अर्थतन्त्र चलायमान गराउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकार पनि लागिरहेको भनाइ राखे ।