एभरेष्ट, कृषि विकास र स्ट्याण्डर्ड चार्टर्डले ह्वात्तै घटाए कर्जाको ब्याज, यस्तो छ २० बैंकको बेसरेट

<p>काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको ब्याजदर साढे २८ प्रतिशत घटेको छ । निरन्तर निक्षेपको ब्याजदर ओरालो लागेसँगै बैंकहरूको ब्याजदरमा समेत गिरावट आएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा वाणिज्य बैंकहरूको आधार दर औसत ६.७५ प्रतिशत बिन्दुमा रहेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ९.४६ प्रतिशत बिन्दुमा [&hellip;]</p>

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको ब्याजदर साढे २८ प्रतिशत घटेको छ । निरन्तर निक्षेपको ब्याजदर ओरालो लागेसँगै बैंकहरूको ब्याजदरमा समेत गिरावट आएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा वाणिज्य बैंकहरूको आधार दर औसत ६.७५ प्रतिशत बिन्दुमा रहेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ९.४६ प्रतिशत बिन्दुमा थियो ।

निक्षेपतर्फ निरन्तर ब्याजदर घटाएपछि आधारदर घट्न पुगेको बैंकरहरू बताउँछन् । बैंकको आधारदर घट्नु भनेको कर्जाको ब्याजदर पनि स्वतः घट्नु हो । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत २८.६९ प्रतिशत घटेको देखिन्छ ।

बैंकहरूको आधार दर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुँदै जान्छ । पछिल्लो समय बैंकको ब्याजदर नै न्यून भएपछि कर्जासमेत बढ्न थालेको बैंकरहरूको दाबी छ ।

‘गत असारदेखि आधार दर घट्न थालेको हो । विस्तार कर्जा पनि बढ्न थालेको थियो । तर, पछिल्लो समय बैंकहरूको आधार दर नै ६/७ प्रतिशतमा झरेपछि कर्जा प्रवाह पनि बढेको देखिन्छ,’ एक बैंकरले विकासन्युजसँग भने ।

उनका अनुसार पुसमा मात्रै बैंकहरूले झण्डै एक खर्ब रुपैयाँ बराबरको कर्जा लगानी बढाएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै एभरेष्ट बैंकको ब्याजदर घटेको देखिन्छ । पुस मसान्तसम्म एभरेष्ट बैंकको आधार दर ३४.१६ प्रतिशत घटेर ५.८४ प्रतिशत बिन्दुमा झरेको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकको आधार दर ८.८७ प्रतिशत बिन्दु थियो ।

यस्तै, कृषि विकास बैंकको ३२.७९ प्रतिशत घटेर ६.६ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.१४ प्रतिशत घटेर ५.१३ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ३१.६३ प्रतिशत घटेर ५.६४ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.४० प्रतिशत घटेर ७.१२ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३१.०६ प्रतिशत घटेर ७.३ प्रतिशत बिन्दुमा आधार दर झरेको छ ।

सार्वजनिक वित्तीय विवरणका आधारमा कुमारी बैंकको ३०.५४ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दु, एनएमबि बैंकको ३०.४५ प्रतिशत घटेर ६.९२ प्रतिशत बिन्दु, नबिल बैंकको ३०.४३ प्रतिशत घटेर ६.३१ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०.०७ प्रतिशत घटेर ६.५८ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २८.२२ प्रतिशत घटेर ७.१७ प्रतिशत बिन्दुमा आधार दर झरेको छ ।

नेपाल बैंकको २७.९५ प्रतिशत घटेर ६.१६ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.६० प्रतिशत घटेर ६.९५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २६.९९ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दु, सानिमा बैंकको २६.९१ प्रतिशत घटेर ६.७९ प्रतिशत बिन्दुमा आधार दर कायम छ ।

नेपाल एसबीआई बैंकको २६.०८ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २५.५८ प्रतिशत घटेर ७.३ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको २५.३२ प्रतिशत घटेर ६.९३ प्रतिशत बिन्दु, प्रभु बैंकको २२.९२ प्रतिशत घटेर ७.२६ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको २२.३१ प्रतिशत घटेर ७.५२ प्रतिशत बिन्दुमा आधार दर झरेको देखिन्छ ।

 

Share News