तेल उत्पादनमा महिला, मनग्य नाफा

<p>काठमाडौं । हामीलै दैनिक भान्छामा प्रयोग गर्ने तेल कति स्वस्थकर छ भन्ने कुरा विभिन्न कारकहरूमा निर्भर हुन्छ । बजारमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । तीमध्ये हामीले कुन तेल प्रयोग गरिरहेका छौँ, कति मात्रामा प्रयोग गरिरहेका छौं त्यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । ‍हामीले प्रयोग गर्दै आएका खाने तेल कुनै पनि हालतमा [&hellip;]</p>

काठमाडौं । हामीलै दैनिक भान्छामा प्रयोग गर्ने तेल कति स्वस्थकर छ भन्ने कुरा विभिन्न कारकहरूमा निर्भर हुन्छ । बजारमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । तीमध्ये हामीले कुन तेल प्रयोग गरिरहेका छौँ, कति मात्रामा प्रयोग गरिरहेका छौं त्यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

‍हामीले प्रयोग गर्दै आएका खाने तेल कुनै पनि हालतमा शुद्ध छैनन् । तेलमात्रै नभएर हामीले प्रयोग गर्ने हरेक वस्तुमा मिसावट छ । गोकर्णेश्वर नगरपालिकाको बेंसीगाउँस्थित सिद्धिदात्री महिला समूहले यही कुरालाई मध्यनजर गरी तेल मिल सञ्चालन गरी शुद्ध तोरीकोे तेल उपलब्ध गराउँदै आइरहेका छन् ।

बजारमा प्याकेजिङ भएर आएको मिसावट तोरीको तेलको सट्टामा शुद्ध तोरीको तेल उपभोक्तासामु उपलब्ध गराउने उद्देश्यले तेल उत्पादन थालिएको समूहका संस्थापक अध्यक्ष तारादेवी फुयाँलले बताइन् ।

‘हामी धेरैजसो महिलाहरूको जिम्मेवारी भान्सा सम्हाल्ने नै हो । भान्सामा हामी आफैले मिसावट तेल प्रयोग गरिहँदा मन खिन्न हुन्छ । हामीलाई सकेसम्म परिवारलार्ई शुद्ध नै खुवाऔं भन्ने हुन्छ । यसले हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ,’ अध्यक्ष फुयाँलले भनिन्, ‘हामीले स्वास्थ्यमा पनि लाभ हुने, उत्पादन खपत पनि सहजै हुने भएकाले तेल मिल सञ्चालन गर्ने निर्णय गरेर तेल उपलब्ध गराउन थालेका हौं ।’

तेल मिल सञ्चालन हुनुअघि सबै महिलाहरू छलफलमा जुटेका थिए । सबैको सुझाव तेल मिलले स्वस्थ तेल भान्छामा पुग्ने, अर्कोतिर रोजगारी पनि हुने अनि यसले समाजमा राम्रो सन्देश प्रवाह हुने भएकाले सुरु गर्ने निष्कर्ष निस्केको फुयाँलले सुनाइन् ।

नगरपालिकाको सहयोग

कुनै पनि व्यवसाय या उद्योग सुरु गर्छु भनेर मात्रै हुँदैन । त्यसको लागि पुँजीको ठूलो आवश्यकता हुन्छ । समूह आफैसँग मिल सञ्चालनको लागि पुँजी पर्याप्त थिएन । तसर्थ समूहले मात्रै यो व्यवसाय सुरु गर्न सक्ने अवस्था थिएन । शुद्ध तेल नगरबासीलाई दिने उद्देश्य प्रष्ट पार्दै मिल सञ्चालन गर्न सहयोगको लागि नगरपालिका पुगेको फुयाँलले सुनाइन् ।

नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया आएसँगै सहयोगसमेत प्राप्त भएको फुयाँलले कुराकानीको क्रमममा बताइन् । अध्यक्ष फुयाँलका अनुसार तेल मिल सञ्चालनको लागि नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग जुटायो । उक्त रकमले मेसिन किन्नको लागि ठूलो राहत मिलेको उनले बताइन् ।

नगरपालिकाको सहयोगले मात्रै मिल सञ्चालनको लागि आवश्यक सामग्रीहरू नपुगेपछि महिला समूहले सहकारीमार्फत कर्जा लिएर तेल मिल सञ्चालन गरेको फुयाँलले सुनाइन् । उनका अनुसार कुल १९ लाख लागतमा २०७८ साल असारबाट तेल मिल सञ्चालनमा आएको हो । अहिले धेरै ठाउँबाट यस कामको लागि सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछिन् ।

‘स्थानीय स्तरमा उत्पादन भएको तोरी प्रयोग गरेर, यही पेलेर यहाँका बासिन्दालाई तेल खुवाउन पाउँदा हामी खुसी छौं, उहाँहरू पनि खुसी हुनुहुन्छ,’ उनले भनिन् ।

यहाँ उत्पादन भएको तेल नगरपालिकाभित्र मात्रै नभएर बाहिरी जिल्लाहरूमा पनि बिक्री हुँदै आएको फुयाँलले बताइन् । ‘हामीले उत्पादन गरेको तेलको खपत निकै नै राम्रो छ,’ उनले भनिन्, ‘अहिले उत्पादित तेल नगरपालिकाभित्र मात्रै नभएर भक्तपुर, बानेश्वर, सुन्दरीजल, नयाँपाटी, गोर्खासम्म पुग्छ ।’

महिला समूहले अहिलेसम्म तेललाई कुनै ब्राण्डिङ, प्याकेजिङबिना नै बिक्री गर्दै आइरहेको छ । धेरैजना ग्राहकहरू मिलमै आएर तेल किनेर लाने गरेको उनले बताइन् ।

‘हामीले तेलको ब्राण्डिङ गरेका छैनौं, घरायसी खाना प्रयोगको लागि उपभोक्ता आफै नै लिन आउनुहन्छ । कसै–कसैले आफ्नो पसलमा लगेर बिक्री गर्छु भन्दै सहजीकरणको लागि लानुहुन्छ,’ उनले भनिन् ।

फुयाँलका अनुसार दैनिक १२० देखि १३० लिटरसम्म तेल उत्पादन र ५० देखि सय लिटरसम्म तेल बिक्री हुने गरेको छ । चाडपर्वको बेलामा तेलको प्रयोग बढी हुने भएकाले त्यो बेलामा भने त्योभन्दा बढी तेल जाने उनले जानकारी दिइन् ।

सुरुवाती चुनौती

नगरपालिकाको सहयोगमा सञ्चालन भएको हुँदा सुरुवाती चरणमा थप आलोचनाहरूको सामना महिला समूहले गर्नुपर्यो । नगरपालिकाले पैसा चलाएर आफै खायो कि भन्नेसम्म सुन्नुपरेको फुयाँलको अनुभव छ । विभिन्न व्यक्ति र ठाउँबाट आएका आलोचनालाई पनि सुझावको रूपमा लिएर काम गर्दा अहिले सफलता प्राप्त भएकोमा खुसी छिन् उनी । हिजो पैसा लिएर खायो भन्नेहरूले पनि अहिले सकारात्मक प्रतिक्रिया दिन थालेको उनी सुनाउछिन् ।

‘हामीले नगरपालिकाबाट सहयोग लिएको पैसाको सही सदुपयोग गरेका छौं, त्यसलाई घटाएका छैनौं बरु बढाउँदै लगेका छौं,’ उनले भनिन्, ‘बाधाहरू काम गर्ने मान्छेलाई आउने हो । हामीले उद्योग दर्ता गरेका छौं, सरकारलाई कर तिरेका छौं, हरहिसाब राखेका छौं ।’

कुनै काम गर्न सहज छैन । व्यक्ति एक्लैले गर्ने काम र समूहमा आवद्ध भएर गर्नुमा थप चुनौतीको सामना गर्नुपर्छ । अध्यक्ष फुयाँलले एक सय जना महिलाको नेतृत्व गर्दै आफै नै तेल मिलको व्यवस्थापन गरिरहेकी छिन् । मिलको व्यवस्थापनदेखि बिक्रीवितरणसम्म उनी आफैले गर्र्दै आएकी छिन् ।

उनी भन्छिन्, ‘काम गर्न सहज छैन, सहज बनाउँदै जाने हो । मिल सञ्चालन गरिरहँदा चुनौतीसँगै सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छु, यसले थप हौसला मिलेको छ ।’

वार्षिक २ लाख बचत

नेपालमा रोजगारी छैन, व्यवसाय गर्ने वातावराण छैन भन्दै अधिकांश युवाहरूको रोजाइ वैदेशिक रोजगारी बनिरहेको अवस्थामा महिला समूहले भने नयाँ कामको सुरुवात गरेर रोजगारीसमेत प्रदान गर्दै आएको छ । केही गर्ने जागर र आँट भए नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ समूह । महिलाद्वारा सञ्चालित उक्त तेल मिलबाट तीन जनाले रोजगारीसमेत पाएका छन् । आगामी दिनमा थप रोजगारी दिन सक्ने गरी काम भइरहेको फुयाँलले सुनाइन् ।

महिला समूहको कामलाई देखेर धेरै जना युवाहरू सल्लाहसमेत लिन आउने गरेकोमा खुसी छिन् उनी । उनले भनिन्, ‘हाम्रो काम देखेर धेरै जना सल्लाह लिन आउनुहुन्छ, गर्‍यो भने यहीं हुने रहेछ, किन विदेश जाने हामी यहाँ गर्न चाहन्छौं, के गर्नुपर्छ भनेर सोध्न आउनुहुन्छ । त्यसले हामीलाई खुसी मिल्छ ।’

समूहले वार्षिक रूपमा सबै खर्च खटाएर २ लाखभन्दा धेरै बचत गर्दे आइरहेको सुनाउँछिन् अध्यक्ष फुयाँल ।  महिला समूहले तोरी किन्नको लागि पछि ५ लाख सहकारीबाटै कर्जा लिएकाे थियो  । उनका अनुसार अझै साढे पाँच लाखको हाराहारीमा सहकारीमा ऋण चुक्ता हुन बाँकी छ । उक्त ऋण चुक्तापछि भने बचत भएको पैसा समूहमा जम्मा हुने उनले बताइन् । त्यसपश्चात आवश्यकताअनुसार विभिन्न सामाजिक कार्यको लागि पैसा  प्रयोग गरिने योजना समूहको छ ।

विदेशी वस्तु बढी रोजाइमा

विदेशबाट आयात भएको वस्तुको तुलनामा नेपालमै उत्पादन भएको वस्तुको मूल्य अलि बढी नै हुन जान्छ । त्यसले गर्दा पनि उपभोक्ताको रोजाइमा गुणस्तरभन्दा मूल्य हेरेर विदेशी वस्तु बढी रोजाइमा पर्ने गरेको छ । अध्यक्ष फुयाँल स्वदेशी उत्पादनमा कच्चा पदार्थदेखि हरेक कुरामा बढी लागत लाग्ने हुँदा स्वतः विदेशी उत्पादनभन्दा अलिकति महँगो पर्न जाने बताउँछिन् । उपभोक्ताले मूल्यलाई भन्दा पनि स्वास्थ्यलाई असर नपर्ने गुणस्तर प्रडक्टलाई जोड दिनुपर्ने बताउँछिन् उनी ।

‘हामी नेपालको उत्पादन सस्तोमा खोज्छौं, तर नेपालमा तोरी कम उत्पादन हुँदा हामीले किन्दा नै महँगो पर्न जान्छ । तेल पनि कम निस्किन्छ । विदेशी हाईब्रिड तोरीबाट तेल पनि बढी आउँछ, सस्तो पनि पर्न जान्छ । हामी नेपाली उत्पादन भनिरहँदा विदेशी तोरी किन प्रयोग गर्ने भनेर स्थानीय उत्पदान नै प्रयोग गर्छौं जुन केही महँगो पर्न जान्छ र तर गुणस्तरीय हुुन्छ ।’

समूहको आगामी योजना

महिला समूहको आगामी प्राथमिकतामा तेल मिललाई थप विस्तार गर्दै लैजाने रहेको छ । त्यसको लागि समूहले घरेलु महासंघमा सहुलियत ऋणको मागसमेत गरिसकेको छ । ऋण स्वीकृत भएपछि मिललार्इं थप विस्तार गर्ने, ब्राण्डिङ गर्ने र कर्मचारीसमेत बढाउँदै लैजाने योजना रहेको अध्यक्ष फुयाँलले सुनाइन् । त्यसबाहेक यहाँ उत्पादन भएको तेललाई देशभरै पु¥याउने लक्ष्य रहेको छ ।

सहकारीमा एक सयभन्दा सदस्य रहेका छन् । समूहद्वारा महिलालाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यसमेत समूहले लिएको छ । आगामी दिनमा महिलालाई रोजगारी दिने खालका थप कार्यक्रम सञ्चालन गर्ने योजना समूहले राखेको उनले बताइन् ।
महिलालाई रोजगारसँग जोड्न सक्यो भने यसले महिला सशक्त मात्रै नभएर त्यसले देशकै अर्थतन्त्रमा योगदान पुग्ने उनले सनाइन् ।

अध्यक्ष फुयाँलले नेपाली उत्पादन र नेपाली व्यवसायलाई प्रात्साहन गर्नुपर्ने बताउँछिन् । पछिल्लो समय गाउँघरका जग्गाजमिन बाँझो राखेर विदेश पलायन भइरहेको हुँदा नेपालमै बस्ने वातावारण सरकारले बनाइदिनुपर्ने र त्यसका लागि युवालक्षित कार्यक्रम ल्याउनुपर्ने सुझाव दिन्छिन् ।

‘नेपालमै बस्छु, काम गर्छु भनेर मात्रै हुँदैन, काम गर्ने वातावारण हुनुपर्छ । त्यसमा सरकारले सोच्नुपर्ने लाग्छ । गाउँघरका जमिन बाँझो छोड्दा त्यसको असर उत्पादनमा पर्न जान्छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।

साथै उनले नेपालमा व्यवसाय गर्नेहरूको लागि सरकारका नीतिहरू व्यवसायमैत्री नभएको हुँदा त्यसमा पनि सरकारले विचार गर्नुपर्ने उनको धारणा छ । सकेसम्म नेपाली उत्पादन प्रयोग गर्न र आयातित वस्तुलाई निरुत्साहित गर्दै जानुपर्ने उनी बताउँछिन् ।

Share News