३२ जिल्लामा पुग्यो शतप्रतिशत बिजुली, एक वर्षभित्र घरघरमा पुर्‍याइने

<p>काठमाडौं । अहिले नेपाल विद्युतमा आत्मनिर्भर हुने गतितिर लम्किरहेको छ । पछिल्लो समय देशभरि नै उज्यालो अभियान चलिरहेको छ । उसो त सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । यहीं उद्देश्य र लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘उज्यालो र सफाइ सहर अभियान’ लाई प्राथमिकता दिएको पाइन्छ । [&hellip;]</p>

काठमाडौं । अहिले नेपाल विद्युतमा आत्मनिर्भर हुने गतितिर लम्किरहेको छ । पछिल्लो समय देशभरि नै उज्यालो अभियान चलिरहेको छ । उसो त सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो ।

यहीं उद्देश्य र लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘उज्यालो र सफाइ सहर अभियान’ लाई प्राथमिकता दिएको पाइन्छ ।

जुन अभियान हाल सुदूरपश्चिम प्रदेशमा तीव्र गतिमा चलिरहेको छ । प्रदेशभरि हालसम्म ८६ दशमलव ५८ प्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने काम पुरा भएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले बताए ।

उनका अनुसार प्राधिकरणले विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आगामी २ वर्षभित्रै शतप्रतिशत काम पुरा गर्ने गरी काम भइरहेको छ ।

प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा करिब ९९ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको र पहाडी जिल्लामा पनि तीव्र गतिमा काम भइरहेको प्राधिकरणको दाबी छ ।

प्रदेशभित्र हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। सरकारीस्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र बाँकी एक सय ३५ मेगावाट निजी क्षेत्रले लगानी गरेको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ ।

प्रदेशभित्र विद्युत उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने काममा तीव्रता दिएको छ ।

कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा पछिल्लो समय धमाधम विद्युतीकरणको काम भइरहेको प्रमुख चन्दले जानकारी दिए ।

उनले भने, ‘हामीले विद्युतको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाइरहेका छौं । जसमा तराईका कैलाली र कञ्चनपुरमा लगभग बिजुली पुगिसकेको र पहाडी जिल्लाहरूमा भने विद्युतको काम धमाधम भइरहेको छ । हाललाई विद्युतका पोल तथा खम्बा ठड्याइँदैछ । तारहरूलाई भूमिगत गर्नेलगायत कामहरू अगाडि बढाइरहेका छौं ।’

तराईका २ जिल्लासँगै पहाडी ७ जिल्लामा आगामी २ वर्षभित्रै सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

कति पुग्यो विद्युत ?

हालसम्म प्रदेशभरमा सबैभन्दा बढी कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको छ भने त्यसपछि कैलालीमा ९९ दशमलव १२ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ ।

यसैगरी, डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ ।

यस्तै, अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीको विद्युतीकरणमा भइसकेको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।

बाँकी काम आगामी २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

अन्य ६ प्रदेशमध्ये मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ । जसमा प्रदेशका ८ वटै जिल्लामा पूर्ण रुपमा विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणका अनुसार कोशी प्रदेशमा ९९.३० प्रतिशत विद्युतीकरण भएको छ।

प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र संखुवासभाबाहेक अन्य जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सोलुखुम्बुमा ८९.०४ र संखुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ, सुनसरी र धनकुटामा शतप्रतिशत विद्युतीकरण गरिएको छ ।

बागमतीमा ९९.९७ प्रतिशत विद्युतीकरण भएको छ। प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ।

यस्तै, गण्डकीमा ९९.४० प्रतिशत विद्युत पुगेको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङमा ८७.८१ प्रतिशत विद्युतीकरण भएको छ । तनहुँ, स्याङ्जा, पर्वत र कास्कीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण गरिएको छ ।

लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युत पुगेको छ । प्रदेशका १२ जिल्लामध्ये रुकुम-पूर्वमा सबैभन्दा कम अर्थात् ३२.२४ प्रतिशत र रोल्पामा ८५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भईसकेको छ ।

यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४.३८ प्रतिशत मात्र विद्युतीकरण भएको छ । जसमा प्रदेशको रुकुम-पश्चिममा सबैभन्दा बढी अर्थात् ९५.०८ प्रतिशत र मुगुमा सबैभन्दा कम अर्थात् ३१.८० विद्युतीकरण भएको छ ।

सुर्खेतमा ८६.४८, दैलेखमा ८१.०५, सल्यानमा ७९.५०, जाजरकोटमा ४९.८०, कालीकोटमा ७०.९६, जुम्लामा ६२.४७, डोल्पामा ४२.७५ र हुम्लामा ३२.५१ प्रतिशत विद्युतीकरण भएको छ ।

प्राधिकरणले २ वर्षभित्र देशभरि नै विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसका अनुसार हाल देशभरि नै विद्युतीकरण गर्ने काम तीव्र गतिमा भइरहेको छ । उनले भने, ‘हामीले यो आर्थिक वर्षभित्रै पुर्‍याउने लक्ष्य लिएका छौं । तर भौगोलिक चुनौतीका कारण समय अल्लि बढी समय लाग्न सक्छ ।’

हाल देशभर घरका आधारमा ९८ प्रतिशत विद्युतीकरण भइसकेको प्रवक्ता घोसको भनाइ छ ।

शतप्रतिशत विद्युतीकरण भएका जिल्लाहरू

नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार ३२ जिल्लामा शतप्रतिशत बिजुली पुगेको छ । मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ । जसमा प्रदेशका ८ वटै जिल्लामा पूर्ण रूपमा विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । उक्त प्रदेशमा हाल सुदृढीकरणको काम भइरहेको छ ।

यस्तै, कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ, सुनसरी र धनकुटामा शतप्रतिशत विद्युतीकरण भएको छ ।

बागमतीमा प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा पनि ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ ।

यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँ, स्याङ्जा, पर्वत र कास्कीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बर्दियामा शतप्रतिशत विद्युतीकरण भएको छ। बाँकी जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको छ ।

कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम विद्युतीकरण भएको छ । प्रदेशको रुकुम-पश्चिममा सबैभन्दा बढी विद्युतीकरण भएको छ भने मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा सबैभन्दा कम विद्युतीकरण भएको बताइएको छ । बाँकी जिल्लामा शतप्रतिशत पुर्‍याइँदैछ ।

Share News