काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीतिको निरन्तरता दिएको बताएको हो ।
अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवं क्षतिग्रस्त आयोजनाको पुन: निर्माणलगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अनुमान गरेको छ ।
यस्तै, गत असोजमा आएको अतिभारी वर्षा र बाढीबाट करिब ४६ रुपैयाँ अर्बको आर्थिक क्षति भएको र सरकारले सडकमार्ग लगायतका पूर्वाधारको मर्मत तथा प्राकृतिक विपत्तिपछिको पुन: निर्माणका लागि उल्लेख्य खर्च गर्नुपर्ने भएकोले सार्वजनिक वित्त व्यवस्थापनमा केही चाप पर्ने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ ।
तथापि, भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरू चलायमान बनाउन उल्लेख्य सहयोग पुग्ने र त्यसबाट लगानीका लागि बैंक कर्जाको मागसमेत बढ्ने अनुमान राष्ट्र बैंकको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको, भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको, अधिकांश केन्द्रीय बैंकहरूले नीतिगत दर घटाउन सुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर-खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान राष्ट्र बैंकको छ । यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू-राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस-युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था रहेको बताएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्याउने गरी तरलता व्यवस्थापन गर्दै आएको उल्लेख गरेको छ ।