
काठमाडौं । हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्यमा जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड बढेको हाे ।
जसकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानका सम्पूर्ण जहाज उडानमा ढिलाइ (डिले) भइरहेका छन् । उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको बताइएको छ ।
दशैँ मनाउन हजारौं यात्रुले हवाई यात्रा गरिरहेका छन् । तर, आकाशमा ट्राफिक जाम हुँद जहाज होल्ड गर्नु परेका कारण उडान ढिलाइ भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्य समयमा भन्दा दसैँमा हवाई उडान धेरै हुने गरेको र पछिल्लो समय बाढी पहिरोको कारण सडकमार्ग अवरुद्ध भएकाले हवाई यात्रुको चाप बढेको छ । तर, आन्तरिक उडान निर्धारित समयभन्दा लामो समय ‘डिले’ भइरहेको छ । जसकारण यात्रुहरू मर्कामा परेका छन् ।
भरतपुर विमानस्थलका लागि बिहान ९ बजे उड्नुपर्ने जहाज अहिलेसम्म उड्न सकेको नसकेको एक यात्रुले बताए ।



