हामीले पर्यटन नीतिमा सामयिक परिवर्तन गर्न खोजिरहेका छौं : मन्त्री पाण्डे

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् । संस्कृति नीति, पर्यटन नीति, र हवाईसम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाइ थियो । नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् ।

संस्कृति नीति, पर्यटन नीति, र हवाईसम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाइ थियो ।

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गरे ।

मन्त्री पाण्डेले आगामी दिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानूनी राज्यलाई स्थापित गराउने गरी कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए ।

उनले भने, ‘अब हुने हिउँदे अधिवेशनमा थुप्रै हाम्रा ऐनहरू हामीले प्रस्तुत गर्नेछौं । ती ऐनहरू हाम्रो संस्कृतिसँग सम्बन्धित ऐनहरू पनि हुनेछन् । पर्यटनसँग सम्बन्धित ऐनहरू पनि हुनेछन् । नागरिक उड्डयनसँग सम्बन्धित ऐनहरु पनि हुनेछन् । यी ऐनहरू आए भने हामीले कानुनी राज्यलाई राम्रोसँग स्थापित गर्न सक्नेछौं । हामीले पर्यटन नीतिमा सामयिक परिवर्तन गर्न खोजिरहेका छौं । हवाई नीतिमा सामयिक परिवर्तन गर्न खोजिरहेका छौं ।’

मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि दोहोर्‍याए ।

Share News