मर्मतसम्भारको अभावमा वायु ऊर्जा आयोजना अलपत्र, एक करोडभन्दा बढीको लगानी

<p>कुश्मा । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा कराेडाैं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् [&hellip;]</p>

फाइल तस्बिर ।

कुश्मा । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

महाशिला गाउँपालिका–६ फलामखानीमा कराेडाैं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ ।

केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । केन्द्र विसं २०६० मा स्थापना भएको थियाे ।

टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।

फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो ।

वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौं घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बता‍ए ।

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए ।

उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए ।

संयुक्तराष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक ‘रिपोर्ट’अनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।

महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताए । रासस

Share News