काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कुल १६खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँबराबरको आयात भएको थियो ।
यस्तै, गत आर्थिक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्षमा कुल १ खर्ब ४५ अर्ब ४५ करोड ९१ लाख ७४ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ कायम भएको छ भने अघिल्लो वर्ष यस्तो घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँबराबर थियो ।
गत वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको छ । एक वर्षको अवधिमा देशको कुल वैदेशि व्यापार पनि १.३३ प्रतिशतले घटेको छ ।
यस्तै, कुल व्यापारमा निर्यातको हिस्सा ८.७३ प्रतिशत कायम भएको छ भने आयातको हिस्सा ९१.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा क्रमशः ८.८८ प्रतिशत र ९१.१२ प्रतिशत रहेको थियो ।