
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सुमा लुकाएर ३ हजार २ सय ५४ केजी सुन तस्करी गरेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । सीआईबीले ब्रेक सुमार्फत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दा साे परीमाणकाे सुन तस्करी भएकाे भेटाएकाे हाे ।
सीआईबीले आइतबार दिएको जानकारीअनुसार सुन तस्करीमा संलग्न २६ जना अझै फरार छन् ।
सीआईबीले गरेको अनुसन्धानमा ब्रेक सुमा लुकाएर ३ सय ६२.७७८ किलो र अरू इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८ सय ३१.८९ किलो सुन तस्करी गरेको देखिएको छ । हाल यसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा बढी पर्छ ।
सीआईबीले पक्राउ परेका २० र फरार २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब, ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो माग गर्ने तयारी भइरहेको सीआईबीले जानकारी दिएको छ ।
२०८० साउन २ गते त्रिभुवन विमानस्थलबाट ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन बरामद गरिएको थियो ।
सीआईबीले तस्करीमा संलग्न विरुद्द २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको मागदाबीसहित प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको छ ।