काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए । सात प्रदेशका सात वटा विशेषता छुट्याएको जानकारी दिए ।
उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए । सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताए । मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको जानकारी दिए ।
‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको छ । कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमुलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छाैँ’, उनले भने ।
उनले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।