काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।
मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।
‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्दछ, आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ, यदि यी नोटहरु क्वीट गर्यौं भने ८० प्रतिशत गैरकानूनी कारोवार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ’, उनले भने ।
उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए ।