काठमाडौं । नेपालमा कुल परिवारमध्ये २५.५९ परिवारले मात्रै बेंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रदेशस्तरीय जनसाङ्ख्यिक प्रतिवेदनका अनुसार देशभरका कुल ६६ लाख ६० हजार ४८१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले मात्रै बैंक तथा वित्तीय र सहकारी संस्थाबाट ऋण लिएको देखिएको हो । ७४.४१ प्रतिशतले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिएको देखिएको हो ।
प्रदेशअनुसार हेर्दा ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेश (२८.८८ प्रतिशत) मा रहेका छन् भने सबैभन्दा कम ऋण सुदूरपश्चिम प्रदेश (२१.९ प्रतिशत) मा लिएका छन् ।
कोशीमा २७.२३ प्रतिशत, बागमतीमा २३.१९ प्रतिशत, गण्डकीमा २५.२३ प्रतिशत, लुम्बिनीमा २६.९६ प्रतिशत र कर्णाली प्रदेशमा २१.९६ प्रतिशत परिवारले बैंकबाट ऋण लिएका छन् ।
यस्तै, कार्यालयको प्रतिवेदनअनुसार ६६.२ प्रतिशत व्यक्तिहरू ज्याला तथा नोकरीका लागि विदेश गएका छन् । कामको खोजीमा ११.१ प्रतिशत र १०.४ प्रतिशत आश्रितमा विदेश गएका छन् । अध्ययनका लागि विदेश जानको संख्या ९.६ प्रतिशत र ०.६ प्रतिशत व्यापार व्यवसायका लागि विदेश गएका छन् । कार्यालयको तथ्यांकअनुसार १३ हजार १२६ जना व्यापार व्यवसायका लागि विदेश गएका छन् ।
कार्यालयका अनुसार १४ लाख ५० हजार ५३८ जना ज्याला तथा नोकरीका लागि २ लाख ९३ हजार ७७ जना अध्ययन तथा तालिमा, २ लाख ४२ हजार ३८४ जना कामको खोजीमा, २ लाख २७ हजार ७२ जना आश्रितमा विदेश गएका छन् ।