काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता र स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध सामाजिक कार्यहरु गर्दे आईरहेको छ ।
वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुमा वित्तीय ज्ञान, सीप, कला कौशल वृद्धि गरी चेतनाको स्तर वृद्धि गर्न, वित्तीय कारोबार प्रति सजग बनाउन र डिजिटल बैकिङको अवधारणा ग्राहक सदस्यमा बुझाउन साथै उद्यमशिलताको लागी वित्तीय सचेतना भन्ने मूलमन्त्रका साथ हरेक वर्ष विविध शाखा कार्यालयहरु मार्फत् वित्तीय सचेतना अभियान सञ्चालन गर्ने क्रममा शाखा कार्यालय बारपाक अन्तर्गत धार्चे गाउँपालिका वार्ड नं ४ लाप्राकमा बित्तीय साक्षरता कार्यक्रम साथै स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा धार्चे गा.पा.वार्ड ४ अध्यक्ष किसन गुरुङले साधना लघुवित्त वित्तीय संस्थाले लाप्राक बासीलाई दिएको वित्तीय सेवाको उच्च मुल्याङन गर्दै यस वित्तीय संस्थाले भौगोलिक विकटताको बावजुद पनि यहाँ सम्म आएर घरदैलो सेवा वित्तीय सेवा दिएकोमा संस्थालाई तथा संस्थामा कार्यरत कर्मचारीहरुलाइ हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि संस्थाको उत्तर-उत्तर प्रगतीको कामना गरे ।
उक्त वित्तीय साक्षरता कार्यक्रम संगै साधना लघुवित्त वित्तीय संस्था तथा बद्रि पोलिटेक्निक गोरखाको आयोजनामा धार्चे गा.पा.वार्ड नं ४ लाप्राकमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । निशुल्क रुपमा १ दिन संचालन भएको स्वास्थ्य शिविरमा लाप्राकका २०० जना भन्दा बढी सदस्य तथा सदस्यहरुको अभिभावकहरुलाई स्वास्थ जाँच गरी निशुल्क औषधी वितरण गरेको छ ।
भौगोलिक दुर्गमताको बावजुद पनि वित्तीय साक्षरता एवं स्वास्थ्य शिविर संचालन गरी सामाजिक उत्तरदायित्व प्रदान गरिएको र उक्त कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी तालिम विभाग प्रमुख सरिता ढकालले बताइन् ।