बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने

  २०८० भदौ १८ गते १५:२६     सन्तोष रोकाया

काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)लाई नेपाल राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने भएको छ । सेयर बिक्रीका लागि अनुमति माग्न राष्ट्र बैंक पुगेको आइएफआईसीलाई राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिने भएको हो ।

खरिदकर्ता खोजेर समेत सेयर बिक्रीका लागि राष्ट्र बैंक पुगेको लामो समय हुँदा पनि राष्ट्र बैंकले सेयर खरिद/बिक्रीको लागि अनुमति दिने फाइल अगाडि बढाएको छैन । नेपाल राष्ट्र बैंकका एक उच्च स्रोतका अनुसार राष्ट्र बैंकले आइएफआईसीलाई सेयर बिक्रीको अनुमति नदिने भएको हो । स्रोतका अनुसार राष्ट्र बैंकले चाहेको भए अहिलेसम्म प्रक्रिया सकिसक्थ्यो ।  राष्ट्र बैंकले नचाहेरै सेयर बिक्रीको फाइल अगाडि नबढेको हो ।

‘बैंकिङ चाहेको बेला आउने र नचाहिएको बेला बाहिरिने बिजनेस होइन, यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले दीर्घकालीन योजना बनाएर लगानी गर्नु पर्छ, सेयरधनीले म सेयर बेच्छु भन्ने बित्तिकै हामीले अनुमति दिनु पर्छ भन्ने पनि हुँदैन, अहिलेसम्मको छलफल अनुसार बंगाली सेयर बिक्रीको अनुमति दिनु हुँदैन भन्नेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको लामो समय भइसकेको छ । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ ।

स्रोतका अनुसार सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था छैन । ‘हामीलाई अझै पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, विदेशी बैंकले गरिरहेको बैंकिङको अभ्यास हामी नेपालमा पनि लागू गर्न चाहन्छौं, विदेशी बैंकको लगानी भएका बैंकको बोर्डमा विदेशीहरु पनि हुनुहुन्छ, उहाँहरुले बोर्ड र व्यवस्थापनलाई त्यहाँको अभ्यास र अनुभव पनि सेयर गर्छन्, कुनै बेला निश्चित प्रतिशत व्यवस्थापन पनि विदेशी आउनु पर्ने नियम थियो, हामी अहिले नै विदेशी लगानीलाई बाहिर जान दिनु हुन्न भन्ने पक्षमा छौं,’ स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको धारणा पनि यस्तै रहेको स्रोतको दावी छ । ‘गभर्नरले उहाँहरुलाई (विदेशी सेयरधनीहरु)लाई पनि तपाईंहरुको एक्सपर्टिज हामीलाई चाहिन्छ, तपाईंहरु बाहिरिनु हुन्न भन्ने कुरा राखिराख्नु भएको छ, उहाँहरुले बिक्री गर्न चाहे पनि नेपालीलाई बिक्री गर्न पाउनु हुन्न, त्यसका लागि विदेशी बैंकको नियामकले नै नियमन गरिरहेको संस्थाले किनोस् भन्ने चाहना गभर्नरको छ,’ स्रोतले भन्यो ।

गभर्नर अधिकारीले आइएफआईसीसँगको छलफलमा पनि नेपाली लगानीकर्तालाई नभई विदेशीलाई नै बिक्री गर्न तयार भए बिक्रीको अनुमति दिने विषय पनि राखिसकेको बुझिएको छ । तर, आइएफआईसीले भने नेपाली लगानीकर्ता नै खोजेको छ । त्यसैले पनि राष्ट्र बैंक यसमा सहमत नभएको हो ।

‘आइएफआईसीले नेपाली लगानीकर्तालाई नै बिक्री गर्ने प्रस्तावसहित आएको छ, एउटा विदेशी लगानीकर्ताले बिक्री गरेपनि अर्को विदेशी लगानीकर्ता आओस् भन्ने अपेक्षा गभर्नरको हो, हामी विदेशी लगानीकर्तालाई फर्काउन चाहन्नौं, अहिलेकै गभर्नर राष्ट्र बैंकको नेतृत्वमा हुँदासम्म आइएफआईसीले नेपालीलाई सेयर बिक्री गर्न पाउँदैन भन्नेमा ढुक्क हुँदा हुन्छ,’ स्रोतले भन्यो ।

विनोद चौधरीलाई पटक-पटक असफलता

नबिल बैंकका प्रमुख सेयरधनी विनोद चौधरीले आइएफआईसीको सेयर खरिद गर्ने  कसरतमा नियमित लागि परेका छन् । तत्कालीन नेपाल बंगलादेश बैंक (एनबी बैंक)लाई नबिलमा गाभ्नका लागि बुनेको एउटा रणनीतिमध्ये उनको पहिलो रणनीति थियो आइएफआईसीको सेयर खरिद गर्ने । उनले त्यतिबेला एनबी बैंकमा रहेको आइएफआईसीको सेयर खरिद गर्न ठूलो संघर्ष गर्नु पर्यो । तर, त्यो संघर्षले उनलाई सफलता मिलेन ।

नेपाली बैंकबाट बाहिरिने आइएफआईसीको योजना भने पहिलेदेखिको नै हो । त्यतिबेला सो सेयर खरिद गर्न तत्कालीन एनबी बैंकको संस्थापक समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले पनि प्रयास गरे । तर, राष्ट्र बैंकले मापदण्ड नपुगेको भन्दै सेयर खरिद बिक्रीको अनुमति दिएन ।

आइएफआईसी बैंकले संस्थापक सेयरधनीहरुबाट रितपूर्वक निवेदन नपरेको भन्दै जोकोही व्यक्ति तथा संस्थालाई बिक्री गर्न राखेको थियो । त्यसबेला नबिल बैंकका मुख्य लगानीकर्ता तथा उद्योगी विनोद चौधरी, शेखर गोल्छा, पशुपति मुरारका, मोतिलाल दुगड लगायतले उक्त सेयर खरिद गर्न चासो देखाए । तत्कालीन सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले बढी मूल्य बोलकबोल गरेको विषय बाहिरिएको थियो ।

स्रोतका अनुसार तत्कालिन सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका थिए । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गने सहमति पनि भइसकेको थियो । सोही बेला आईएफआईसीले चौधरी ग्रुपलाई पनि १५७ रुपैयाँमै सेयर बिक्री गर्नका लागि सम्झौता गरिसकेको विषय बाहिरिएपछि दुगड अदालत पुगेका थिए ।

त्यो बिचमा नबिल बैंकले एनबी बैंकलाई गाभ्यो । केही समय सेयर खरिद बिक्रीको विषय सामसुम बन्यो । तर, २०७९ को मंसिरमा फेरि सार्वजनिक सूचना नै जारी गर्दै नबिल बैंकले आईएफआईसीको संस्थापक सेयर बिक्रीका लागि आव्हान गर्यो । सेयर खरिद गर्ने इच्छा देखाए तिनै उद्योगी विनोद चौधरीले । उनले आफ्नी श्रीमती सारिका चौधरीको नाममा आईएफआईसीको सयर खदि गर्ने प्रक्रिया अगाडि बढाका थिए ।

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवालीका अनुसार सबै सेयर खरिदका लागि सारिका चौधरीको नाममा निवेदन परेकाे छ ।

आईएफआईसी र चौधरी ग्रुप सेयर खरिद बिक्रीको अनुमति माग्न राष्ट्र बैंक पुगेको लामो समय भइसक्यो । तर, राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने अनौपचारिक रुपमा बताइसकेको बुझिएको छ ।

एनबी बैंक मर्ज पूर्व नबिल बैंकमा चौधरीको ५५ प्रतिशतभन्दा बढी सेयर थियो । मर्जपछि चौधरी ग्रुपको हिस्सा करिब ४५ प्रतिशत छ । आइएफआईसीको ७.७७ प्रतिशत सेयर खरिद गर्न संघर्ष गरिरहेका चौधरी आफ्नो पक्षमा बहुमत अर्थात् ५२.७७ प्रतिशत सेयर बनाउने रणनीतिमा छन् ।

प्रतिनिधिसभा सांसद सदस्य समेत रहेका चौधरीले आईएफआईसीको सेयर खरिद गर्नको लागि ठूलो लबिङ गरे पनि त्यो सेयर हात पार्न पटक–पटक असफल भइरहेका छन् । स्रोतका अनुसार अहिले सोही कारण चौधरी र गभर्नर अधिकारीबीच एक किसिमको ‘इगो’ नै चलेको छ ।

 ढुङ्गाना गभर्नरको उम्मेदवार

अहिले नबिल बैंकको व्यवस्थापकीय नेतृत्व ज्ञानेन्द्र ढुङ्गानाले गरिरहेका छन् । एनबी बैंकलाई नबिल बैंकमा गाभ्नका लागि सबैभन्दा बढी खटिने पात्र मध्येका एक हुन् सीईओ ढुङ्गाना । त्यसैले पनि उनलाई चोधरीले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ताज पहिराए । ढुङ्गाना त्यतिखेर तत्कालीन नेपाल बंगलादेश बैंकबाट बाहिरिसकेको भएपनि पछि एनबी नबिलमा गाभिसकेपछि उनैले नबिलको नेतृत्व गरे र सेलिब्रेटी सीईओ अनिलकेशरी शाह बैंकबाट बाहिरिए ।

चौधरीले आइएफआईसीको सेयर खरिद गर्नमा ठूलो बाधक बन्ने पात्रका रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई लिएका छन् । गभर्नर २०७६ चैतमा नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा नियुक्त भएका अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ । तर, सांसद चौधरीले भने नयाँ गभर्नरका लागि अहिले नै तयारी थालिसकेको स्रोतको भनाइ छ । उनले तिनै ढुङ्गानालाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने तयारीमा छन् ।

‘आफ्नो नजिकको पात्रका रुपमा चोधरीले ढुङ्गानालाई लिएका छन्, उनले जसरी भएपनि राष्ट्र बैंकबाट आइएफआईसीको सेयर आफुले खरिद गर्न अनुमति चाहिरहेका छन्, त्यसका लागि गभर्नर अधिकारी तयार छैनन्, त्यो निर्णय गराउनका लागि पनि उनले अहिले नै नयाँ गभर्नरका लागि ढुङ्गानालाई गभर्नर बनाउनु पर्ने विषय पार्टीपंक्तिका नेताहरुसँग राख्न सुरु गरिसकेको सुनिन्छ,’ स्रोतले भन्यो ।

उसो त ढङ्गानाका दाजु आनन्द ढुङ्गाना पनि काँग्रेसकै नेता हुन् । उनले अहिले नेपाली काँग्रेस अन्तर्गतको सहकारी विभागको नेतृत्व गरिरहेका छन् । त्यसैले पनि सीईओ ढुङ्गानालाई पार्टीसमक्ष लविङ गर्न केही सहज हुन सक्ने आँकलन बैंकिङ उद्योगमा हुन थालिसकेको छ ।

गभर्नरकाे रूपमा तयार पार्न नबिलले प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई अगामी असार मसान्तमा विदा गर्ने भएको छ । कार्यकाल २ वर्षको लागि मात्र तोकिएकोले उनलाई अवकाश दिन पनि बैंकलाई सजिलो भएको स्राेतले बतायाे । साउनदेखि नबिलबाट अवकाश पाउने ढुंगानाले आगामी चैतमा नेपाल राष्ट बैंकको गभर्नर बन्ने सम्भावना प्रवल रहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.