काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्यांकीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले आयोजना गरेको ‘तथ्यांक प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तथ्यांकीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताए । उनले तथ्यांक निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्यांक प्रमाणिकरण हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको तथ्यांक र स्थानीय तहले निकालेको तथ्यांक आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए ।
‘संघीय, प्रादेशिक तथा स्थानीय तथ्यांक प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के गर्यौँ त भन्दाखेरी त्यो तथ्यांक प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने त्यो एउटा पाटो त हो । तथ्यांकीय कार्यमा संलग्न निकायहरुका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने । तथ्यांककाे प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरुले निकालेको प्रोफाइलमा डाटा फरक छ । यसतर्फ पनि ध्यान दिनुपर्छ’, उनले भने ।
त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्यांककाे उत्पादन गर्नुपर्ने बताए । दशौँ वर्ष अघिको तथ्यांक प्रयोग गरिने गरेको भन्दै तथ्यांकलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने जानकारी दिए ।
उनले प्रयोग नहुने खालको तथ्यांक निकालिरहनु आवश्यक नभएको बताए ।