भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व फेरबदल, यी हुन् नयाँ कमान्डर

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भन्सार विभाग र आन्तरिक राजस्व विभागमा महानिर्देशक फेरबदल गरिएको हो ।

भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ । साथै, विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् ।

त्यसैगरी, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन् । विभागका तत्कालीन महानिर्देशक रमेश अर्याल लाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ ।

नयाँ जिम्मेवारी पाएका सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् ।

राजस्व संकलन, कर प्रशासन तथा भन्सार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यी दुई विभागमा नेतृत्व परिवर्तनसँगै राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Share News