
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको दाबी गरेका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताए ।
विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले उल्लेख गरे ।
‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ, स्वभाविक रूपमा यसका आन्तरिक र बाह्य कारण छन्, तथ्यांकहरूले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ, यो नौ महिनाका प्रक्षेपण हुन्, आर्थिक वर्ष अझै तीन महिना बाँकी छ, केही पुँजीगत खर्च हुन्छ, हामीले केही सकारात्मक प्रयत्नहरू गरेका छौं, अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो ।’
यद्यपि, अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो । मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्राेत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए ।
नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्ती भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।
आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए ।