संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी, सहकारी समस्या समाधान गर्न अध्यादेश ल्याइने

<p>काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन् । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने [&hellip;]</p>

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन् । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए ।

त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्न आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढ्ने पनि उनको भनाइ छ । बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास उनकाे व्यक्त छ । मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उनले बताए ।

‘संसदको अधिवेशन सम्भवतः २५ वा २६ गते सुरु होला, लगानी सम्मेलनलाई अनुकुल किसिमको प्रभाव पार्ने हिसाबले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्न सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो, मलाई लाग्छ आउने अधिवेशन विधेयकहरूलाई संसदबाट पारित गर्ने काममा उल्लेखनीय प्रगति हासिल गर्छौ भन्ने लाग्छ,’ उनले भने, ‘संविधान, संघीयतालाई कार्यान्वयन गर्न थुप्रै ऐनहरूमा संशोधन आवश्यक छ, त्यसको निम्ति पनि धेरै विधेयकहरू संसदमा पेस हुने अवस्था रहन्छ । ती विधेयकमाथि पनि छलफल गर्दै हामी अगाडि बढ्छौँ, मलाई विश्वास छ, यो काम हामी सबैको महत्वपूर्ण सवाल हो ।’

मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए । संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको जानकारी दिए ।

Share News