
धुलिखेल । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरूले बजेट छुट्याउने बताएका छन् ।
बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बनेको बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले एउटा मन्त्रालयले मात्रै विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सम्भव नभएकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबै मन्त्रालयले निश्चित प्रतिशत रकम विपद् व्यवस्थापनका लागि छुट्याउने बताए ।
विपद् व्यवस्थापन गर्नु तीनै तहको सरकार र सबै नागरिकको दायित्व भएकोले आ-आफ्नो भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ । विपद्को विषय संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले हेर्ने गरे पनि आपसमा समन्वय हुन नसक्दा विपद्का बेलामा समयमै उद्दार गर्न नसकिने गरेको उनले बताए । उनले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वय हुनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा विपद् व्यवस्थापनको सम्बन्धमा नयाँ नीति बनाएर सोही अनुरूपको कार्यक्रम अघि सार्ने बताए । उनले विपद् परेको बेलामा नेपाल प्रहरीको भुमिका प्रशंसनीय रहने गरेको उल्लेख गर्दै प्रहरी नागरिकमैत्री र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई कार्यान्वयन गर्नका लागि प्रदेश सरकार लागिरहेको पनि जानकारी दिए ।
मन्त्री श्रेष्ठले विपद्बाट बच्नका लागि सुरक्षा संस्कृतिको निर्माण गर्नुपर्ने बताए । उनले मानिसकै कारणबाट विपद् निम्तिने गरेको भन्दै आफ्नो भूमिका र जिम्मेवारीप्रति सबै सचेत हुनुपर्ने बताए ।
बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवन बागमती प्रदेश सरकारको २ करोड ८ लाख १३ हजार ८३१ रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।