काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी सकुशल भेटिएकी छिन् । सम्पर्कविहीन भनिएकी हमालकी जेठी छोरी आरती हमाल गोवामा सकुशल भेटिएकी मेयर हमाल आफैले जानकारी गराएका छन् ।
‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु,’ हमालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
साथै, उनले आफ्नो जेठी छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको समेत जानकारी गराएका छन् ।
आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि हमालले हिजो अर्थात मंगलबार मात्रै खोजिदिन सबैलाई आग्रह गरेका थिए ।