काठमाडौं । नाफामा गिरावट आएसँगै बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हुने खर्च पनि घटेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले साढे ३७ करोड रुपैयाँ मात्रै सीएसआरमा खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्वअन्तर्गत नाफाको १ प्रतिशतले हुन आउने रकम बराबरको कोषमा जम्मा गर्नु पर्ने हुन्छ । सोही बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्व अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ३९ लाख २४ हजार रुपैयाँ मात्रै खर्च गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४२ करोड ७१ लाख ६७ हजार रुपैयाँ संस्थागत सामाजिक दायित्वमा खर्च गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको यस्तो खर्च १२.४६ प्रतिशत घटेको देखिन्छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राइम बैंकले संस्थागत सामाजिक दायित्वमा ६१४.८८ प्रतिशत बढाएर १ करोड ७९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वष यस बैंकले १४ लाख ९ हजार रुपैयाँ मात्रै संस्थागत सामाजिक दायित्वमा खर्च गरेको थियो ।
हिमालयन बैंकको १६१.९८ प्रतिशत बढेर ३ करोड ३३ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको ३०.५९ प्रतिशत बढेर ३०.५९ प्रतिशत बढेर १ करोड ५८ लाख २५ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१.४९ प्रतिशत बढेर २ करोड ४५ लाख ४९ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका छन् ।
यस्तै, सानिमा बैंकको १७.५७ प्रतिशत बढेर १ करोड ५८ लाख ११ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.२६ प्रतिशत बढेर २ करोड २५ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ०.१२ प्रतिशत ४ करोड २२ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् । सिद्धार्थ बैंकले अघिल्लो वर्ष सरह नै खर्च गरेको छ । यस बैंकले २ करोड ९० लाख २४ हजार रुपैयाँ खर्च गरेको हो ।
बैंकहरूले स्वैच्छिक रूपमा हरेक वर्ष ठूलो रकम सीएसआरमा खर्च गर्दै आएका थिए । ५/६ वर्ष अघि नेपाल राष्ट्र बैंकले यो क्षेत्रमा खर्च गर्न पर्ने अनिवार्य व्यवस्था गरेपछि झनै रकम बढाउँदै आएका थिए । केही बैंकहरूले राष्ट्र बैंकले तोकेको व्यवस्थाभन्दा पनि बढी रकम खर्च गर्दै आएका छन् । सीएसआरअन्तर्गत बैंकहरूले खासगरी शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोपमा उद्धारलगायत विभिन्न क्षेत्रमा लगानी गरिरहको बैंकरहरू बताउँछन् ।
माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नबिल बैंक, एनएमबि र नेपाल बैंकले भने गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्वमा हुने खर्च घटाएका छन् ।
माछापुच्छ्रेले ७.०६ प्रतिशत घटाएर १ करोड ५ लाख ८८ हजार रुपैयाँ, सिटिजन्सले ७.०७ प्रतिशत घटाएर १ करोड ८६ लाख ३७ हजार रुपैयाँ, कृषि विकासले ७.२२ प्रतिशत घटाएर १ करोड ९८ लाख ९ हजार रुपैयाँ, एनआईएमबिले २०.५० प्रतिशत घटाएर ४ करोड २३ लाख ९४ हजार रुपैयाँ, नेपाल एसबिआईले २०.६२ प्रतिशत घटाएर ८२ लाख ८० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् ।
लक्ष्मी सनराइजले ३२.३४ प्रतिशत घटाएर ९६ लाख १७ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्यले ३२.३६ प्रतिशत घटाएर १ करोड ८१ लाख १३ हजार रुपैयाँ, कुमारीले ४१.६९ प्रतिशत घटाएर १ करोड ५० लाख ३५ हजार रुपैयाँ, नबिलले ४२.०१ प्रतिशत घटाएर २ करोड २३ लाख ३२ हजार रुपैयाँ, एनएमबिले ६३.२१ प्रतिशत घटाएर ९३ लाख ३१ हजार रुपैयाँ र नेपाल बैंकले ७५.६६ प्रतिशत घटाएर ६४ लाख १५ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् ।
