पर्सा प्रहरीको गम्भीर त्रुटी, ‘५००० जिउँदै चल्लालाई आगोमा फाल्दै, मार्दै’

<p>काठमाडौं । तपाईं सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता हो भने अहिले एउटा भीडीओ भाइरल भइरहेको छ । भीडीओमा कुखुराका चल्लाहरूलाई आगोमा फाल्दै मारेको दृश्यले सबैलाई आश्चर्य मात्रै होइन भावविहल बनाइरहेकाे छ । धेरैले उक्त भीडीओ पर्साको भन्दै फेसबुक तथा ट्वीटरमासेयर गरिरहेका छन् । भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका चल्लाहरू जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेर आगो बालेर [&hellip;]</p>

काठमाडौं । तपाईं सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता हो भने अहिले एउटा भीडीओ भाइरल भइरहेको छ । भीडीओमा कुखुराका चल्लाहरूलाई आगोमा फाल्दै मारेको दृश्यले सबैलाई आश्चर्य मात्रै होइन भावविहल बनाइरहेकाे छ । धेरैले उक्त भीडीओ पर्साको भन्दै फेसबुक तथा ट्वीटरमासेयर गरिरहेका छन् ।

भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका चल्लाहरू जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेर आगो बालेर नष्ट गरेको बुझिएको छ । उक्त विषयमा पर्सा प्रहरीसँग बुझ्दा भीडीओ पर्साको पोखरियाको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षेक कुमार बिक्रम थापाले आफूहरूबाट मानवीय त्रुटी भएको स्वीकार गरे । उनले आफूले
क्वारेन्ठटाइनको समन्वय तथा सहकार्यमा कुखुराका चल्ला नष्ट गर्न भनेर निर्देशन दिए पनि तल्लो तहका सुरक्षाकर्मीहरूले आगो बालेर नष्ट गरेको विषय आफूले पछि जानकारी पाएको बताए ।

‘त्यो भीडीओ बिहीबारको हो, हामीबाट ठूलो मानवीय त्रुटी भयो, त्यस्तो नहुनु पर्ने हो, पानी परेका कारण खाल्डो खन्न सक्ने अवस्था नभएपछि त्यस्तो गरिएको रहेछ,जे भयो, गलत भयो,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार यो पर्साको पोखरियाको घटना हो । भारतबाट अवैधरूपमा भित्र्याइएका कुखुराका चल्लाहरू नष्ट गरिएको उनले जानकारी दिए । उनका अनुसार ५ हजार चल्लालाई जलाएर नष्ट गरिएको हो ।

जिउँदै चल्लालाई आगोमा फालेर मारेको यस घटनाले आम मानिसमा मानवीयता हराएको सन्देश प्रवाह प्रहरीले गरेको छ । प्रहरी प्रशासनबाटै यो किसिमको अमानवीय व्यवहार हुनुलाई धेरैले सम्वेदना गुमेकोरूपमा व्याख्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय मधेशका सूचना अधिकारी श्यामकुमार महत्ताले  खाल्डोमा गाडेर कुखुरा नष्ट गर्ने अभ्यास भए पनि पर्सा प्रहरीको यो हर्कत राम्रो नभएको बताए । उनले यस विषयमा प्रदेश प्रहरीले थप अध्ययन गरेर गलत गर्नेलाई कारवाही हुने जानकारी गराए ।

‘हामीले पशु सेवाको क्वारेन्टाइनसँगको समन्वय तथा रोहवरमा अवैध कुखुरा तथा चल्लाहरूलाई नष्ट गर्दै आएका छौं, आगोमा जलाउनु राम्रो भएन, यो गलत भयो,’ उनले भने ।

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ पशु स्वास्थ्य तथा पशु सेवा नियमावलि २०५६को परिच्छेद ४ को दफा १८ मा नष्ट गर्ने व्यवस्था छ । सो दफामा कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्नु पर्दा अवस्था हरेर कम्तिमा तीन फिट पुरिने गरी गाड्नु पर्ने वा विभागले निर्धारण गरेको प्रक्रियाअनुसार नष्ट गर्न सकिने व्यवस्था छ ।

तर, पर्सा प्रहरीले भने मनलाग्दी किसिमले जिउँदै चल्लाहरूलाई जलाएर नष्ट गरेको हो । जसको अहिले चौतर्फीरूपमा आलोचना भइरहेको छ । पशु सेवा विभागले पनि यो विषयमा आफूलाई जानकारी हुन आएको र यो गलत भएको धारणा राखेको छ ।

पर्सा पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. हरेराम यादवले अवैध कुखुरा नष्ट नै गर्नु पर्ने व्यवस्था भएपनि प्रहरीले जलाएर गलत गरेको बताए । उनका अनुसार पानी परेको हुँदा खाल्डो खन्न सम्भव नभएर प्रहरीले आगो बालेर चल्लाहरूलाई नष्ट गरेको हो ।

यो प्रतिबन्धित आइटम हो, भैंसी वा अन्य पशु भएको हो भने लिलामी हुन्छ । तर, प्रतिबन्धित आइटमलाई नष्ट गर्नु बाहेकको विकल्प हुँदैन, अब जिउँदै नष्ट गर्ने भन्दा पनि बेहोस बनाउने स्प्रे खोजेर नष्ट गर्छौं, यो घटनाले पाठ पनि सिकाएको छ,’ उनले भने ।

Share News