
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । सोमबार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए । ग्लोबल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताउँदै उनले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि उल्लेख गरे ।
अधिकारीले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।
उनले भने,‘ ग्लोवल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौं । कुनैपनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तिय चेतना हुन जरुरी छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ । जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तिय संस्थाहरु उत्तरदायित्वहरु पनि राखिएको छ । सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था छ । हामीले विद्यालयको पाठ्यक्रममा पनि वित्तिय साक्षरता सम्बन्धि शिक्षा राख्ने कार्ययोजना बनाएका छौं । त्यसको लागि समन्वय भइरहेको छ । वित्तीय साक्षरता पाठ्यक्रममा राख्ने काम हुने छ । पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिन्छ । वचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’
ग्लोवल मनी वीक २०२४ आईतबार अर्थात चैत ४ गतेदेखि शुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।