
काठमाडौं । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र शिथिलता र मन्दीको बीच अवस्थामा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. वाग्लेले अहिले नेपालको अर्थ मुलुकको अर्थतन्त्रको अवस्थाको विषयमा छलफल भइरहेको भन्दै अर्थतन्त्रको अवस्था शिथिलता र मन्दीको बीच अवस्थामा रहेको बताएका हुन् ।
‘अहिले बहस पनि चलेको छ, हामी मन्दीमा छौं के हामी संकटमा छौं भन्ने छ यसमा प्राविधिक कोणबाट हेर्ने हो भने यसलाई हामीले टुक्रयाउन सक्छौं’, उनले भने, मलाई लाग्छ हामी शिथिलता र मन्दीको बीचबीच तिर छौं ।’ उनले अहिलेको अर्थतन्त्रको अवस्थालाई तंग्रयाउनको लागि ऋण प्रवाहमा लचक हुनुपर्ने बताएका छन् । साथै अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएका सकारात्मक विषयहरु बाह्य क्षेत्रको नियन्त्रणमा रहेको समेत बताए ।
उनले सरकारको तर्फबाट मुलुकको अर्थतन्त्र सुधारमा के पहल भयो भनेर प्रश्न गरेका छन् । ‘हाम्रो पहल के भयो त ? राजस्व परिचालनका कुराहरु, गर्नुपर्ने खर्चमा पनि हाम्रो सुस्तता छ, यत्रो चुहावटका कुराहरु छन् र नीतिगत पहलहरुमा पनि अर्थमन्त्रीले बुँदा २२ देखि २९ सम्म गर्छु भनेका कुराहरु केही पनि गर्न सक्नु भएन’, उनले भने, ‘त्यसैले यो बजेटको फेलिएर चाहिँ उहाँ आँफैले भनेका कुरा गर्न नसक्दा पनि भएका छन् ।’