सरकारको ८ महिनामा खर्च र आम्दानी लक्ष्यको ४५ प्रतिशत मात्रै

<p>काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव)को ८ महिनामा लक्ष्यको ४५.०८ प्रतिशत राजस्व आम्दानी गरेको छ भने खर्च पनि ४५.७७ प्रतिशत गरेको छ । चालु आवको ८ महिना अवधिमा सरकारले ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गरेको छ भने खर्च ८ खर्ब १ अर्ब ५८ करोड २८ लाख रुपैयाँ गरेको [&hellip;]</p>

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव)को ८ महिनामा लक्ष्यको ४५.०८ प्रतिशत राजस्व आम्दानी गरेको छ भने खर्च पनि ४५.७७ प्रतिशत गरेको छ । चालु आवको ८ महिना अवधिमा सरकारले ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गरेको छ भने खर्च ८ खर्ब १ अर्ब ५८ करोड २८ लाख रुपैयाँ गरेको छ ।

सरकारले चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व आम्दानीको लक्ष्य निर्धारण गरेको थियो भने १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, चालु आवको ४ महिना अवधि मात्रै बाँकी रहँदा सरकारले लक्ष्यको ४५ प्रतिशत मात्रै आम्दानी र खर्च गर्न सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवको ८ महिना अवधिमा कर आम्दानीमार्फत ५ खर्ब ७८ अर्ब ६७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ भने गैरकर आम्दानीमार्फत ६० अर्ब ३७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै समीक्षा अवधिमा सरकारले अनुदानबापत २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । जबकी चालु आबमा सरकारले अनुदानबापत ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार विगतमा जस्तै चालु आवमा पनि सरकारको पुँजीगत खर्च क्षमता निकै कमजोर देखिएको छ । चालु आवमा सरकारले ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्म जम्मा ८१ अर्ब २१ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ । जुन पुँजीगत खर्च लक्ष्यको २६.८९ प्रतिशत मात्रै हो ।

तर, साधारण खर्चतर्फ भने सरकारले चालु आवमा लिएको लक्ष्यको ५०.९८ प्रतिशत खर्च गरेको छ । त्यस्तै समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ सरकारले लक्ष्यको ४४.९७ प्रतिशत अर्थात १ खर्ब ३८ अर्ब २५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।

Share News