‘निवर्तमान अर्थमन्त्रीले फर्जी आँकडा देखाएर फ्रड गरे, अर्थतन्त्र संकटको डिलमा छ’

<p>काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका फर्जी आँकडा प्रस्तुत गरेर फ्रड गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डा.महतले यसअघि अर्थतन्त्र सही दिशामा छ भन्नका लागि गलत आँकडाहरू सार्वजनिक गरेर ठूलो गल्ती गरेको बताएका हुन् । उनले अहिले अर्थतन्त्र ठूलो समस्यामा रहेको बताउँदै त्यो संकट लुकाउन डा. महतले [&hellip;]</p>

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका फर्जी आँकडा प्रस्तुत गरेर फ्रड गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डा.महतले यसअघि अर्थतन्त्र सही दिशामा छ भन्नका लागि गलत आँकडाहरू सार्वजनिक गरेर ठूलो गल्ती गरेको बताएका हुन् ।

उनले अहिले अर्थतन्त्र ठूलो समस्यामा रहेको बताउँदै त्यो संकट लुकाउन डा. महतले गलत तथ्यांक सार्वजनिक गरेको धारणा राखेका हुन् ।

‘देशको अर्थतन्त्र गम्भीर संकटको डीलमा छ, यो समस्यालाई समाधान गरेर अर्थतन्त्रलाई लयमा फर्काउनु पर्ने अभिभारा अहिलेको सरकारमा छ, निवर्तमान अर्थमन्त्रीज्यूले फर्जी आँकडा प्रस्तुत गरेर अर्थतन्त्र सही दिशामा रहेको गलत सन्देश प्रवाह गरे,’ उनले भने ।

उनले अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक भए पनि त्यसलाई महतले स्वीकार नगरेको धारणा राखे । ‘फर्जी आँकडा प्रस्तुत गरेर राम्रो गरेको छु भनेर भन्नु हुँदैन, गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र ठीक छैन भनियो,’ उनले भने ।

उनले कारोबार र आयात नहुँदा विदेशी मुद्रा बढेको धारणा राखे । ‘रेमिट्यान्स र विदेशी मुद्रा मात्रै बढेको देखिएको छ, अन्य सूचक सकारात्मक छैनन्, अर्थतन्त्र मन्दीको अवस्थामा छ, मन्दी हो भनेर निवर्तमान अर्थमन्त्रीले स्वीकार्नु भएन,’ उनले भने ।

यस्तै, अर्थतन्त्र नकरात्म्क अवस्थामा हुँदा उद्योगीले उद्योग विस्तार र लगानी गर्न नचाहेको उनको भनाइ छ । बजारमा माग र उत्पादन पनि छैन, त्यसकारण पनि बैंकमा तरलता थुप्रिएको हो, माग र आपुर्ति भएको भए तलता बढ्ने थिएन,’ उनले भने ।

उनका अनुसार सरकारको मध्यावधी समीक्षामार्फत् गरेको बजेटको संशोधित अनुमानमा पनि पुग्न समस्या छ । निर्माण व्यवसायी भुक्तानीको माग गरिरहेको भए पनि सरकारले खर्च गर्न नसकेको उनको भनाइ छ ।

‘आन्तरिक ऋण उठाएर साधारण खर्च गर्ने परिपाटी छ, साधारण खर्चका लागि ऋण उठाउनु पर्ने बाध्यता छ, राजस्वले साधारण खर्च नधान्ने अवस्था छ,’ उनले भने, अब निजी क्षेत्रलाई उत्साहित बनाएर अगाडि बढ्नु पर्ने अभिभारा नवनियुक्त अर्थमन्त्री समक्ष छ ।’

Share News