यसरी भण्डारण गर्न सकिन्छ महिलाको अण्डा र पुरुषको शुक्रकीट

<p>काठमाडौं । हरेक दम्पत्तिलाई स्वस्थ्य बच्चा चाहिन्छ । विज्ञहरू महिलाले स्वस्थ बच्चा जन्माउन २२ देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माइसक्न सल्लाह दिन्छन् । तर, तत्काल बिहे गर्न इच्छा नभएका र स्वस्थ बच्चा खोज्नेहरूका लागि भने स्वास्थ्य क्षेत्रमा विभिन्न प्रविधिको विकास भइसकेको छ । अब पाठेघर स्वस्थ भएका र अरु कुनै स्वास्थ्य समस्या नभएका महिलाहरूलाई सन्तानबिना [&hellip;]</p>

काठमाडौं । हरेक दम्पत्तिलाई स्वस्थ्य बच्चा चाहिन्छ । विज्ञहरू महिलाले स्वस्थ बच्चा जन्माउन २२ देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माइसक्न सल्लाह दिन्छन् । तर, तत्काल बिहे गर्न इच्छा नभएका र स्वस्थ बच्चा खोज्नेहरूका लागि भने स्वास्थ्य क्षेत्रमा विभिन्न प्रविधिको विकास भइसकेको छ । अब पाठेघर स्वस्थ भएका र अरु कुनै स्वास्थ्य समस्या नभएका महिलाहरूलाई सन्तानबिना बस्नु नपर्ने अवस्था आइसकेको छ । महिलालाई मात्र होइन अहिले विदेश गएर पछि बच्चा जन्माउछु, अथवा पहिले आफ्नो खुट्टामा उभिन्छु भन्ने पुरुषको लागि पनि उत्तिकै विकल्प छ । त्यो विकल्प हो महिलाको अण्डा र पुरुषको शुक्रकीट भण्डारण । यसरी भण्डारण गरिएको अण्डा र शुक्रकीटबाट जहिले पनि बच्चा जन्माउन मिल्छ ।

के हो डिम्ब र शुक्रकीट भण्डारण ?

करिअरका लागि व्यस्त रहने महिला र पुरुषले आफ्नो सन्तानका लागि आफ्नो डिम्ब र शुक्रकीट सुरक्षित राख्ने प्रक्रिया हो । २२, ३० र ३५ वर्षसम्मका महिला र पुरुषले ४० वा त्योभन्दा पछिको उमेरमा बच्चा जन्माउने योजना बनाउँदा डिम्ब र शुक्रकीटलाई भण्डारण गर्न सकिन्छ । यसरी भण्डारण गरिएको शुक्रकीट र अण्डाको प्रयोगले ४० वर्षपछि पनि २५ देखि ३० वर्षको उमेरमा जन्मेको बच्चा जस्तै स्वस्थ बच्चा जन्माउन सकिन्छ ।

कसरी हुन्छ अण्डा भण्डारण ?

कुनै पनि महिलाले आफ्नो अण्डा भण्डारण गर्न चाहेमा भने महिनावारी भएको दुई दिनमा भण्डारण गर्ने ठाउँमा पुग्नुपर्छ । दुई दिनदेखि नै इन्जेक्सन लगाउनुपर्छ । इजेक्सन र औषधीबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसको १० देखि १२ दिनसम्म इन्जेक्सन लगाइसकेपछि हल्का बेहोस बनाएर ट्रान्सभजाइनल अल्ट्रासाउण्डको मद्दतले अण्डा झिकिन्छ । अण्डा झिक्दा सानो सुइले घोचेर निकालिन्छ । अण्डा झिकिसकेपछि महिलाको होस आयो भने घर जान सक्छन् । उनीहरूले भर्ना भएर अस्पताल बसिरहनु पर्दैन । पुरुषहरूका लागि भने प्राकृतिक रूपमा नै संकलन गरिन्छ । तर, पुरुषले भण्डारण गर्न आउनुभन्दा दुई-तीन दिनसम्म शारीरिक सम्पर्क राख्न हुँदैन । यसरी संकलन गरिएको शुक्रकीटलाई पनि अण्डा जसरी नै भण्डारण गर्न सकिन्छ ।

झिकेको अण्डा कसरी राखिन्छ ?

महिलाबाट यसरी झिकेको अण्डालाई ल्याबमा एम्ब्रोलोजिसले हेरिन्छ । यसले राम्रो अण्डा छुट्याउने काम गर्छ । राम्रो र गुणस्तरीय अण्डा छुट्याइसकेपछि एउटा औषधी हुन्छ, त्यो औषधीले अण्डाको पानी निकालेर खुम्च्याएर लिक्विड नाइट्रोजन (-१९६ डिग्री सेल्सियस) मा राखेर वर्षौंसम्म फ्रिज गर्न सकिन्छ । यो जस्ताको त्यस्तै रहन्छ । यसरी राखिएको अण्डा जब प्रयोगमा ल्याइन्छ तब त्यो अण्डामा फेरि औषधी राख्दा पहिलेकै अवस्थामा आउँछ । यसरी राख्दा दिने व्यक्तिको नाम लेखेर राखिएको हुन्छ । त्यसमा नम्बर पनि राखिएको हुन्छ । यसरी राख्दा भण्डारण गर्ने व्यक्ति आएर बच्चा जन्माउने योजना बनाउँदा प्रयोग गर्न सकिन्छ ।

कत्तिको सुरक्षित हुन्छ ?

अण्डा स्टोर गर्नु एकदमै सुरक्षित विधि हो । तर, धेरैजसो अप्रेसन गर्दा डराउँछन् । अप्रेसनभन्दा धेरैजसोको पेट चिरेर अप्रेसन गर्ने भन्ने सोच हुन्छ तर यो पेट चिरेर गरिने अप्रेशन हैन । यौनीको माध्यमबाट अल्ट्रासाउण्डबाट लामो सुई राखेर डिम्बसयमा रहेका अण्डा तानेर टेस्टयुबमा जम्मा गरिन्छ । यो जम्मा गरिएको अण्डालाई ल्याबमा पठाइन्छ । अण्डा झिक्नका लागि अस्पतालमा भर्ना नै हुनुपर्छ भन्ने छैन ।

महिलाहरु कत्तिको आउँछन् ?

जसको श्रीमान नेपालमा छन् । आफू विदेश जानुपर्ने छ भन्ने महिलाहरू अण्डा स्टोरका लागि बढी आउने चिकित्सक बताउँछन् । दुई तीनपटक अण्डा भण्डारण गरेकालाई एक पुलिङ भनिन्छन् । केही वर्षयतादेखि अहिले अण्डा भण्डारण गर्नेको संख्या बढेको छ ।

महिलामा अण्डाको संख्या कम छ भनेर कसरी थाहा पाउने ?

यो थाहा पाउने धेरै तरिका हुन्छ । एन्टी मुलेरियन हर्मोन (एमएच) जाँच हुन्छ । यो जाँच गर्दा ३ हजार रुपयाँ लाग्छ । जुनसुकै ल्याबमा यो जाँच गर्न सकिन्छ । अर्को त्यो हर्मोनसँगै मेल खान्छ कि खाँदैन भनेर ट्रान्सवेजाइनल अल्ट्रासाउण्ड गरेर दुवै डिम्बाशयमा कतिवटा अण्डा छ गन्ने काम हुन्छ । यसो गर्दा अण्डाको क्वालिटी र मात्रा कति छ भन्ने थाहा हुन्छ ।

यसरी भण्डारण गरिएका अण्डा र शुक्रकीटबाट बच्चा जन्माउने प्रक्रिया कस्तो हुन्छ ?

कुनै पनि महिलाले भण्डारण गरेर राखेको अण्डाबाट बच्चा जन्माउनुपरेमा महिनावारी भएको दुई दिनमा आउनुपर्छ । त्यसपछि पाठेघरमा ध्यान दिनुपर्छ । पाठेघरमा बच्चा बस्न मिल्ने गरी हर्मोनको औषधी दिनुपर्छ । यो औषधीले पाठेघर बाक्लो बनाउने काम गर्छ । हर्मोन प्रयोग गरेको १२ देखि १४ दिनमा ८.१० मलिमिटर बाक्लो बनाइसकेपछि इन्जेक्सन वा यौनीमा राखिने जुनै पनि माध्यमबाट प्रोजेस्टिन औषधी दिइन्छ । यो औषधी प्रयोग गरेको दिन डाक्टरले महिलाले भण्डारण गरेर राखेको अण्डालाई निकालेर न्याचुरल स्टेटमा ल्याएर महिलाको श्रीमानको शुक्रकीटसँग मिक्स गरेर बच्चा बन्न छोडिन्छ । यसरी राखेको तीन वा पाँच दिनपछि बच्चा पाठेघरमा राखिन्छ । यो फ्रटिलिटीबाट अण्डा भण्डारण गरेर १०-१२ जना महिलाले बच्चा जन्माइसकेका छन् ।

यसको पाइदा के हो ?

यो प्रक्रिया ढिलो बिहे गर्न चाहनेहरूका लागि राम्रो हो । हामीले समय रोक्न सक्दैनौँ तर, यो पद्धतिले समय रोके सरह काम गर्छ । २४ वर्ष हुँदा अण्डा भण्डारण गर्दा ४० वर्षपछि पनि अण्डाको गुणस्तर २४ वर्षकै रहनु भनेको राम्रो हो ।

कति उमेरमा भण्डारण गर्दा राम्रो ?

३२ वर्षभन्दा अगाडि अण्डा भण्डारण गरेको सबैभन्दा राम्रो हुन्छ । अहिले अण्डा भण्डारणको कुरा सुनेर ३५ देखि ४० वर्ष पुगेका महिलाहरू पनि आउने गरेका छन् । ४० वर्षका महिलाहरूमा अण्डाको मात्रा पनि कम हुन्छ भने क्वालिटी पनि कम हुन्छ । यो उमेर समूहका महिलाको सय वटा अण्डा फ्रिज अथवा भण्डार गरिएको छ भने सय वटै अण्डा राम्रो अवस्थामा नआउन पनि सक्छ । अण्डा भण्डारण जति कम समयमा गर्याे त्यति गुणस्तर पनि राम्रो हुन्छ ।

खर्च कति लाग्छ ?

यो भनेको आइभिएफ (कृत्रिम गर्भाधान) प्रक्रिया जस्तै हो । यसका लागि तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म खर्च लाग्छ । यो भण्डारणका लागि भने अस्पताल पिच्छे फरक चार्ज पनि हुन सक्छ । तर, प्रायः वार्षिक ५० देखि ६० हजार लाग्छ ।

यसरी जन्माइएका बच्चा कति स्वस्थ हुन्छन् ?

यसरी जन्माइएका बच्चा स्वस्थ हुन्छन् भन्ने विषयमा रिसर्च नै भएको छ । नेपालमा पनि टेस्टट्युब बेबी गरेर आइभिएफमार्फत जन्माएको बच्चा स्वस्थ र बुद्धिमान भएका छन् ।

डिम्बजस्तै शुक्रकीटमा कमी आउने समय हुन्छ ?

महिलाहरूको जन्मजातै डिम्बाशयमा अण्डाको स्टोर हुन्छ । त्यो नचलेर बसेको हुन्छ । जब महिनावारी हुन सुरु हुन्छ तब डिम्बाशयमा रहेका अण्डाहरू सक्रिय हुन थाल्छन् । स्टोरमा रहेका अण्डाहरू उत्पादन हुँदै बाहिर आउने भएकाले उमेर बढ्दै गएपछि अण्डाको स्टोर घट्दै जान्छ । यो स्टोर बढाउने त्यस्तो कुनै पनि प्रक्रिया र औषधी छैन । त्यसैले ३५ वर्षपछि यो घट्दै जान्छ । ३८ वर्षपछि यो सख्या ह्वात्तै घट्न थाल्छ । त्यसैले पनि महिलाले ३५ वर्ष अगाडि पहिलो सन्तान जन्माइसक्नुपर्छ । पुरुषहरू जब किशोर अवस्थामा हुन्छन् त्यसपछि हरेक दिन शुक्रकीट उत्पादन हुन्छ । महिलाको जस्तो उमेरको हद हुँदैन । तर, खानपानमा राम्रो छैन, तनाव छ, लागुपदार्थ सेवन गर्ने या अण्डकोषमा चोटपटक लागेको छ, बच्चा हुँदा हाँडेरोग लागेको छ वा कुनै भाइरल इन्फेक्सन भएको छ भने यस्तो कारणले पुरुषको शुक्रकीटमा कमी आउन सक्छ । होइन भने महिलाजस्तो पुरुषलाई बच्चा हुन गाह्रो हुँदैन ।

(प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ डा. स्वस्ति शर्मासँग विकासन्युजकर्मी इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

Share News